डिलबहादुर सिंह
डोटी, वैशाख २ गते । डोटीको बडिकेदार गाउँपालिका-१ वि पि नगरमा इलाका प्रशासन कार्यालयको स्थापना गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले एक समारोहका बिच इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनका क्रममा बडिकेदार गाउँपालिका-१ की सोबिता बोहरालाई नागरिकता प्रमाणपत्र–पत्र प्रदानगरेर इलाका प्रशासन कार्यालय वि पि नगरको सेवा शुभारम्भ गरिएको छ ।
इलाका प्रशासन कार्यालय मार्फत सेवा दिन थालिएको डोटी जिल्लामा पहिलो पटक हो । विपि नगरमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै डोटीका जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिका पुरै तथा बोगटान फुड्सिल गाउँपालिका १,२ र ३ का ४२ हजार भन्दा बढी स्थानीय बासिन्दा सेवाबाट प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता काफ्लेले स्थानीय नागरिकहरुलाई छिटो, सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालयको स्थापना गरिएको बताउनुभयो ।
इलाका प्रशासन कार्यालयको स्थापनासँगै स्थानीय स्तरमा सहज सेवा उपलब्ध हुने आशामा स्थानीय बासिन्दा रहेका छन् । उद्घाटन कार्यक्रममा डोटीको जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकाका जनप्रतिनिधी लगायत स्थानीयको सहभागीता रहेको थियो ।