• २२ मङ्सिर २०८२, सोमबार

अनियमितताको आरोप : आवास कम्पनीका प्रमुखलाई कालोमोसो

blog

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापा

बिकास अधिकारी

पश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका छन् । 

आज दिउसो बर्दघाट नगरपालिका वडा नम्बर– एक पुनर्वासमा रहेको कार्यालयमा रहनुभएका थापालाई बहुमत निकट युवा सङ्गठनका कार्यकर्ताले कालो दलेर बाहिरिएका थिए । 

कम्युनिस्ट युवा सङ्गठन नेपालका पाँच नम्बर ब्युरो संयोजक मिलन थापाले एक विज्ञप्ति जारी गर्दे थापाले पुनर्वास परियोजनासम्बन्धी काममा व्यापक अनियमितता, ढिलासुस्ती र घुसखोरी गरेको आरोप लगाउँदै  जनकारवाही गरिएको जनाएको छ । 

सङ्गठनका अनुसार स्थानीय स्तरमा बस्ती सार्ने, जग्गा वितरण गर्ने, योजनाका लाभार्थी पहिचानमा मनपरी, दलालसँग मिलेमतो तथा नागरिकले पाउनुपर्ने सेवा अवरुद्ध पारेको जस्ता कामले जनगुनासो बढेको भन्दै ‘जनकारवाही’ गरिएको उल्लेख छ ।

विशेष गरी बर्दघाट नगरपालिका–२ चिसापानीमा निर्माणाधीन रहेको ट्रमा सेन्टर निर्माणका लागि दिइएको जग्गा बेचबिखन गरेको, अख्तियारको 

दुरुपयोग गरी कम्पनीमा श्रीमती र भाउजूलाई जागिर खुवाएको र विभिन्न क्षेत्रका योजनामा अनियमितता भएको सङ्गठनको दाबी छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले केही व्यक्तिहरू आएर कालो पदार्थ थापामाथि छरेर गएको बताउँदै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

राष्ट्रिय आवास कम्पनी मातहत रहेको जग्गाको सम्बन्धमा बेलाबखत विवाद सृजना हुँदै आएको छ ।