गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ७ गते । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको लागत मूल्य प्रतिब्यारेल १५० देखि दुई सय अमेरिकी डलर फरक रहेको छ । कच्चा तेल र प्रशोधित तेलको मूल्यको लागतमा फरक पर्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भने घट्न नसकेको नेपाल आयल निगमले जनाएको छ ।
यसअघि कच्चा तेल र प्रशोधित तेलको लागत मूल्य प्रतिब्यारेल १० देखि २० डलर रहेकामा पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण कच्चा तेलको मूल्य बढ्दै गएको हो । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग प्रशोधित तेल खरिद गर्छ । आइओसीले अन्तर्राष्ट्रिय बजारको १५ दिनको औसत मूल्यलाई आधार मानेर निगमलाई मूल्य पठाउने गर्छ ।
निगमले सोही मूल्य आधार मानेर स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले आइओसीबाट प्रशोधित तेल खरिद गर्ने हुँदा
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि तत्काल प्रभाव नपर्ने जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि हामीले खरिद गर्ने प्रशोधित तेल हो,” उहाँले भन्नुभयो, “प्रशोधित तेल र कच्चा तेलको लागत मूल्य धेरै फरक भएकाले नेपालमा तत्काल नघटेको हो ।”
नेपालमा आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता छ । उहाँले भन्नुभयो, “कच्चा तेलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ ।”
निगमले आइओसीबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गरिँदै आएको छ ।
निगमका अनुसार सन् २०२६ अप्रिल १६ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.६, पेट्रोल १३९.३ र डिजेल प्रतिब्यारेल २२८.१ अमेरिकी डलर थियो । पछिल्लो समय सबैभन्दा उच्च मूल्य अप्रिल २ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११८.३, पेट्रोल २६२.० र डिजेल प्रतिब्यारेल ३३४.४ अमेरिकी डलर पुगेको देखिन्छ । निगमका अनुसार भन्सार, कर, ढुवानी, बिमा, भण्डारण, सेवा शुल्क जस्ता पक्षले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्छ ।