• ७ वैशाख २०८३, सोमबार

मानव बेचबिखन आरोपमा चार पक्राउ, दुई बालिका उद्धार

blog

जिल्ला प्रहरी कार्यालय कास्की ।

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), वैशाख ७ गते ।
पोखरामा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा चार जना पक्राउ परेका छन् भने दुई बालिकाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख ५ गते साँझ करिब ७ बजे पोखराको जाल्पा रोड क्षेत्रमा रहेका विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ स्थायी घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीया महिला (परिवर्तित नाम “कास्की ६८”), सिन्धुली घर भई पोखरा–८ बस्ने ३१ वर्षीया खाजाघर सञ्चालक (परिवर्तित नाम “कास्की ६९”), पोखरा–२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णुबहादुर राजभाट र भारतको बिहार घर भई पोखरा–९ नयाँबजार बस्ने ३१ वर्षीय अमिर उल्ला मियाँ रहेका छन् ।

प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई प्रलोभनमा पारेर होटलमा राम्रो तलबसहित काम लगाइदिने भन्दै ल्याइने, सुरुमा सामान्य काममा लगाएर पछि जबरजस्ती अनैतिक कार्यमा संलग्न गराउने तथा होटलमा आउने ग्राहकसँग रकम लिएर रात बिताउन बाध्य बनाउने गरिएको खुलासा भएको छ ।

पक्राउ परेकाहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभयो ।