• ७ वैशाख २०८३, सोमबार

घोराही–रक्षाचौर सडक : तिस वर्षपछि खोलियो ट्र्याक

blog

तुलसीपुर कुटेचौरदेखि ग्वारखोलासम्म नयाँ ट्र्याक खोलिएको सडक ।

तुलसीपुर समाचारदाता

तुलसीपुर, वैशाख ७ गते । दाङ जिल्लाको उत्तरी क्षेत्रलाई जोड्ने सडकका रूपमा रहेको घोराही–तुलसीपुर–रक्षाचौर सडकखण्डको विवादित तीन सय मिटर ट्र्याक खोल्ने काम तीस वर्षपछि समाधान भएको छ । सडकखण्डको तुलसीपुर कुटेचौर टेलिया कुलोदेखि वडा नम्बर ४, ग्वारखोलासम्मका ट्र्याक भने जग्गा विवादका कारण खोल्न सकिएको थिएन । 

तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले सडकका ट्र्याक खोलिएको तीस वर्षपछि विवादित ठाउँका जग्गा धनीलाई सहमतिमा ल्याएर वडाको बजेटबाट ट्रयाक खोलिएको बताउनुभयो । सडकखण्ड अन्तर्गत कुटेचौरदेखि सक्रामसम्मको सडकको दुवैतर्फ नाला निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । तुलसीपुर कुटेचौरका स्थानीय पलबहादुर वलीले सडक ट्र्याक खोलिएसँगै ग्वारखोलामा पुल बन्ने आशा पलाएको र छिट्टै सडक कालोपत्रे हुने अपेक्षा गरिएको बताउनुभयो । 

घोराही–तुलसीपुर–रक्षाचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिकाभित्र पर्ने घोराहीदेखि शिवपुरसम्म नौ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेका अनुसार यसै वर्ष सोही सडकखण्डको जीतपुरदेखि बाँसगढीसम्म दुई किलोमिटर सडकखण्ड कालोपत्रेको काम भइरहेको छ । घोराही क्षेत्रमा अझै चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्न बाँकी रहेको छ । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माका अनुसार तुलसीपुर क्षेत्रको रक्षाचौर आँखा अस्पतालदेखि घोरनेटीसम्म करिब छ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले यो सडकखण्ड दाङ जिल्लाको ग्रामीण क्षेत्र मात्रै नभई रोल्पाको दक्षिणी भेगका नागरिकको जीवनमार्गका रूपमा समेत जोडिएको बताउनुभयो । उहाँले यसै सडकखण्ड अन्तर्गत करिब १८ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्रेको काम बाँकी रहेकाले संघ र प्रदेश सरकारसँग योजना सम्पन्न गर्नका लागि पटक पटक बजेट माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो ।