• ७ वैशाख २०८३, सोमबार

ताप्लेजुङको पर्यटन विकास

blog

साहारा लिम्बू 

फुङलिङ, वैशाख ७ गते  । पर्यटकको भरिया बनेर हिमालको यात्रा गर्ने गरेका मिङ्मा ग्याबु शेर्पाले अब संसदीय यात्रा तय गर्नुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपको सेकाथुममा जन्मनुभएका शेर्पाको बाल्यकाल त्यहीँ बित्यो । 

सरस्वती च्यारीबुक माध्यमिक विद्यालयमा पढ्दापढ्दै २०६२ सालमा शेर्पाले काठमाडौँको यात्रा तय गर्नुभएको थियो । काठमाडौँमा बस्दा उहाँले विदेशी पर्यटकको भारी बोक्ने काम पाउनुभयो । स्कुलभन्दा पनि उहाँका लागि भरियाको काम महìवपूर्ण थियो । किनकि उहाँलाई त्यसबेला आर्थिक अभाव टार्नु थियो । 

भरियाको कामलाई निरन्तरता दिने क्रममा सन् २०१० मा उहाँले पहिलो पटक सगरमाथाको आरोहण गर्नुभयो । त्यतिबेला उहाँ विदेशी नागरिकलाई हिमाल चढाउन सगरमाथा जानुभएको थियो । पहिलो प्रयासमै सफल हुनुभयो । 

उहाँले अहिलेसम्म आठ हजार मिटरमाथिका हिमाल ३५ पटक आरोहण गरिसक्नुभएको छ । यस अवधिमा उहाँले पाँच वटा कीर्तिमान बनाएर गिनिज बुकमा नाम लेखाउनुभएको छ । उहाँले सर्वोच्च शिखर सगरमाथा र मनास्लु हिमाल नौ÷नौ पटक आरोहण गर्नुभएको छ । उहाँले संसारकै सबैभन्दा गाह्रो हिमालका रूपमा परिचित पाकिस्तानमा रहेको विश्वको दोस्रो आग्लो हिमाल छ पटक आरोहण गरिसक्नुभएको छ । नेपाल पर्वतारोहण सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका उहाँको १७ वर्षदेखि पर्वतारोहणको क्षेत्रमा काम गरेको अनुभव छ । भरिया, गाइड, एसिस्टेन्ट गाइड, व्यवसायी हुँदै अहिले शेर्पा सांसद बन्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्नुभएका शेर्पा हिमाली क्षेत्रमा रहेका समस्या र तिनको दिगो समाधानकै लागि राजनीतिमा आएको बताउनुहुन्छ । आफू जस्ता आरोहीलाई प्रोत्साहित गर्न नीतिगत रूपमा पहल गर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “अबको मेरो पहल पर्यटन क्षेत्रको परिवर्तनमा नै हुन्छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हाम्रै ताप्लेजुङमा छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, विशेष गरी लिम्बू समुदायको आस्थाको धरोहर रहेको कुम्भकर्ण हिमाल (फक्ताङलुङ), साम्दोपोखरी, सिङ्जेमाताल, सोदुपोखरी साथै छुट्टै बस्तीका रूपमा स्थापित भएको ओलाङचुङगोला, तोक्पेगोला, याङमा, घुन्साको प्रचारप्रसारसँगै अधिक 

मात्रामा पर्यटक भिœयाउनेमा नीतिगत पहल गर्ने छु ।” 

योसँगै ताप्लेजुङदेखि हुम्लासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल (जिएचटी) मा लगानी प्रवर्धनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । ताप्लेजुङ राजधानीबाट दुरीले धेरै टाढा भए पनि दुई देश चीन र भारतको सिमाना जोडिएको जिल्ला भएका कारण यहाँको पर्यटनसँगै व्यापारिक सम्भावना धेरै भएकाले यसमा पनि विशेष पहल गर्ने उहाँको भनाइ छ । यसका लागि तमोर कोरिडोर पनि प्राथमिकतामा पर्ने बताउनुभयो । तमोर कोरिडोर अन्तर्गत चतरा–ओलाङचुङगोला हुँदै चीनसँगको नाका टिपतालासम्मको कालोपत्रेमा पहल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “दक्ष जनशक्ति उत्पादनमा राज्यले लगानी गर्न सकेको छैन । अब मेरो आवाज नीति निर्माणको क्षेत्रमा पुगेको छ । सकेसम्म पूरा गर्ने आठोटमा छु । मैले हिमालमा समस्यैसमस्या देखेको छु । यत्तिका हिमाल हुँदा पनि हामीले उद्धारलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ । यसमा नीतिगत समस्या रहेको छ ।” 

आफू राजनीति मात्रै भन्दा कर्ममा विश्वास गर्ने भएकाले काम पनि सँगसँगै बढाउने उहाँले बताउनुभयो । गाउँमा मत माग्ने व्रmममा धेरै गुनासा र समस्या सुने देखेकाले ती मुद्दा पनि सँगै रहेको उहाँले बताउनुभयो । 

अहिले गाउँघर धेरै खाली भएका छन् । मानिस सहरकेन्द्रित भएका छन् । यसले हाम्रा सांस्कृतिक र धर्म हराउँदै गएको छ अब आफ्नो धर्म, संस्कृति संरक्षणसँगै प्रचारका लागि पर्यटन प्रवर्धन गर्न आवश्यक भएकाले यसमा नै जोड दिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अबको मेरो यात्रा ताप्लेजुङको पर्यटन क्षेत्रमा परिवर्तनका लागि हुने छ ।”