दीपकप्रसाद गौतम/कन्हैयालाल केशरी
वीरगन्ज (पर्सा), वैशाख ७ गते । वीरगन्ज महानगर क्षेत्रमा त्रिभुवन राजपथ अन्तर्गतको सडक दायाँबायाँ २५ मिटरभित्रका संरचना (घरटहरा) आइतबार बिहानैदेखि भत्काउन सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले करिब एक दर्जन डोजर/एक्साभेटर चलाएर त्रिभुवन राजपथ अन्तर्गतको गण्डकदेखि भन्सार क्षेत्रको मितेरी पुल सडक क्षेत्रमा रहेका सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार बिहान ५ः३० बजेबाट हटाउन सुरु गरेको हो ।
सडक डिभिजन कार्यालय हेटौँडाका नायब सुब्बा राजकुमार अर्यालका अनुसार यसअघिको सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्णय अनुसार आइतबार बिहानदेखि सडक अतिव्रmमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरिएको छ । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सडक विस्तारका लागि सडक विभागले माग गरे अनुसारका आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइएको बताउनुभयो । वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडकलाई राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँबायाँ २५/२५ मिटर चौडा पार्ने काम गर्दा अतिव्रmमण गरी निर्माण गरिएका करिब एक हजार दुई सय घरटहरा भत्काउनुपर्ने सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला साहले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सुरक्षामा सडक अतिक्रमण गरेका २९ वटा सरकारी कार्यालयका भवन तथा एक हजार दुई सय वटा व्यक्तिका निजी स्वामित्वमा रहेका संरचना हटाउने अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साझ सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्र रहेका संरचना आइतबार बिहान ४ः३० बजेसम्म हटाउन निर्देशन दिएको थियो । यता घर भत्किएका घरधनीले भने २४ घण्टा पनि समय नदिएर संरचना भत्काउने कार्यले आफूमाथि अन्याय गरिएको गुनासो गरेका छन् ।
स्थानीय प्रशासनले सूचना जारी गरेपछि शनिबार साँझदेखि नै वीरगन्ज बजार क्षेत्रका घरमा पसल रहेका पसलधनीले धमाधम आफ्नो पसलका सामान स्थानान्तरण गर्न सुरु गरेका थिए भने रातभरिमा अधिकांश पसलधनीले सामान स्थानान्तरण गरिसकेका थिए । सर्वोच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तारसम्बन्धी मुद्दामा २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गरेको थियो । फैसला भएको करिब एक वर्षपछि कार्यान्वयनका लागि आइतबारदेखि अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने काम सुरु गरिएको हो ।