• ७ वैशाख २०८३, सोमबार

गुल्मी महोत्सवको ४० प्रतिशत नाफा रेसुङ्गा विकासमा लगानी

blog

गुल्मी उद्योग वाणिज्य संघको कार्यालय । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ७ गते ।
गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ सम्म सञ्चालन हुने पाँचौँ गुल्मी महोत्सवबाट प्राप्त हुने खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ ।

पहिलो गुल्मी महोत्सवबाट रिडी प्रवेशद्वार निर्माणका लागि ४० हजार, रेसुङ्गाका लागि ४० हजार, विचित्र गुफाका लागि ४० हजार, कुर्घा मालिकाका लागि ४० हजार, कंके देउरालीका लागि ४० हजार, तम्घास फोहरमैला व्यवस्थापनका लागि एक लाख र महेन्द्र माध्यमिक विद्यालयका लागि एक लाख ५० हजार रुपियाँ खर्च गरिएको थियो ।

त्यस्तै, दोस्रो महोत्सवको नाफाबाट रेसुङ्गा पोखरीमा २२ धारा निर्माण, शाखामार्फत पर्यटन प्रवर्धनका लागि तीन लाख, रक्तसञ्चार केन्द्र स्थापना गर्न एक लाख ५० हजार, बौद्धिक अपाङ्ग केन्द्रका लागि ५० हजार तथा महेन्द्र मावि र तम्घासस्थान मन्दिरमा धर्मशाला निर्माणका लागि ९० हजार रुपियाँ सहयोग गरिएको संघका पूर्व अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तेस्रो महोत्सवको नाफाबाट रेसुङ्गामा सिँढी निर्माणका लागि १५ लाख, महेन्द्र माविका लागि दुई लाख तथा अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरिएको थियो । चौथो महोत्सवको नाफाबाट महेन्द्र माविको मैदान निर्माणमा दुई लाख ५० हजार, चिदीचौरमा नाली निर्माणका लागि तीन लाख, रेसुङ्गा होमस्टेका लागि सात लाख र रेडक्रस सोसाइटीका लागि ५० हजार रुपियाँ प्रदान गरिएको उहाँले बताउनुभयो ।

पाँचौँ महोत्सवको नाफाबाट रेसुङ्गाको पर्यटन प्रवर्धनका लागि रचनात्मक काम गर्ने योजना रहेको संघका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सवका लागि हाल प्रचार–प्रसार, व्यवस्थापन तथा स्थल निर्माणलगायतका काम भइरहेको छ ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास—शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा स्थानीय कला, संस्कृति र उत्पादनको प्रदर्शनमा विशेष जोड दिइने संघले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रवर्धन, कला–संस्कृति र पर्यटकीय क्षेत्रको प्रचार तथा आर्थिक कारोबारमा टेवा पु¥याउनु महोत्सवको उद्देश्य रहेको बताउनुभयो । महोत्सव व्यवस्थापनका लागि ३३ उपसमिति गठन गरिएका छन् ।

महोत्सवमा करिब २५० व्यापारिक स्टल रहने संघका महासचिव चेतनारायण पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा एक लाख टिकट बिक्री हुने र करिब पाँच करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । कृषि उद्यमी र घरेलु हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

महोत्सवमा जलपरी, बाल उद्यान, कृषि प्रदर्शनी तथा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने प्रचार–प्रसार उपसमितिका संयोजक कृष्ण खनालले जानकारी दिनुभयो ।