• ७ वैशाख २०८३, सोमबार

हिल्सामा सशस्त्र प्रहरीको जनशक्ति थप

blog

नारा लेकमा जमेको हिउमा हिडेर हिल्सातर्फ जाँदै सशस्त्र प्रहरी । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, वैशाख ७ गते ।
सदरमुकाम सिमकोटबाट सशस्त्र प्रहरी बलको टोली नारा लेकमा जमेको हिउ छिचोल्दै हिल्सा पुगेको छ । नेपाल–चीन सीमास्थित हिल्सामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) का लागि थप जनशक्ति पठाउने क्रममा उक्त टोली हिउ छिचोल्दै गन्तव्यमा पुगेको हो ।

सिमकोटबाट गएको नौ सदस्यीय सशस्त्र प्रहरी टोली नारा लेकमा जमेको हिउ पार गर्दै सकुशल हिल्सा पुगेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंहले जानकारी दिनुभयो ।

चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकको हिल्सातर्फ आधादेखि तीन फिटसम्म सडकमा जमेको हिउमा पैदल हिँड्दै सशस्त्र प्रहरी हिल्सा पुगेको उहाँले बताउनुभयो । टोलीले करिब तीन घण्टासम्म हिउमै हिँड्नुपरेको थियो । हाल नारा क्षेत्रमा करिब तीन किलोमिटर सडकमा हिउ जमेकाले पन्छाउने काम नभएसम्म सडक सञ्चालन हुन सक्ने अवस्था छैन ।

४४ नम्बर गुल्म सिमकोटले सरकारको निर्देशनअनुसार बिओपीमा थप जनशक्ति पठाएको हो । यसअघि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन जनशक्ति रहेकोमा थप जनशक्ति पुगेपछि आवश्यक संख्या पूरा भएको बताइएको छ ।

बिओपी हिल्साबाट सीमास्तम्भहरूको दैनिक अनुगमन तथा सीमा सुरक्षाको काम हुँदै आएको छ । जनशक्ति थपिएपछि अब एउटाको सट्टा दुई टोलीले सीमास्तम्भहरूको अनुगमन गर्नेछन् ।

सरकारले सीमा क्षेत्रमा बिओपीलाई थप सुदृढ बनाउने नीति लिएसँगै अन्य स्थानबाट समेत जनशक्ति व्यवस्थापन गरी हिल्सामा पठाइएको हो । यसले सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।