अमरराज नहर्की
तनहुँ, वैशाख ७ गते । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेका संरचनाका कारण आफ्नो बस्ती जोखिममा परेको भन्दै व्यास नगरपालिका–१३, बेलवासका बासिन्दा आन्दोलित भएका छन् ।
आयोजनाको तटबन्धले गर्दा सेती र मादी नदीको बहाव बस्तीतर्फ सोझिएको र १७० घरधुरी डुबानको उच्च जोखिममा परेको भन्दै सोमबार स्थानीयले जुलुससहित आयोजनाको कार्यालय पुगेर विरोध प्रदर्शन गरेका हुन् ।
डुबान जोखिम सरोकार समितिका अध्यक्ष यमबहादुर आलेले आयोजनाको संरचनागत त्रुटीले गर्दा बेलवास क्षेत्र जोखिममा परेको बताउनुभयो । उहाँका अनुसार विस्तृत अध्ययन प्रतिवेदनले समेत डिजाइनमा केही कमी–कमजोरी देखाएको अवस्थामा आयोजनाले त्यसलाई बेवास्ता गरेकोले शान्तिपूर्ण बिरोध गरिएको बताउनुभयो ।
गत वर्षको बाढीले दुई पटकसम्म बस्ती डुबाएर पशुधन र भौतिक संरचनामा क्षति पु¥याइसकेको छ, आलेले भन्नुभयो, नदीको एकतर्फ मात्र तटबन्ध बाँधिएकाले पानीको वेग सिधै बस्तीतर्फ फर्किएको छ ।’’
आफ्ना मागहरू तत्काल सम्बोधन नभए आयोजनाको काम ठप्प पार्ने र थप कडा आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्। सरोकार समितिका उपाध्यक्ष बलराम तिवारीले नदीको प्राकृतिक बहाव परिवर्तन नगरी यथास्थानमा व्यवस्थापन गर्ने पूर्वसहमति कार्यान्वयन नभएको गुनासो गर्नुभयो । स्थानीय सिर्जना तिवारीले जोखिमयुक्त क्षेत्रको न्यायोचित सम्बोधन वा मुआब्जासहितको सुरक्षित पुनस्र्थापना हुनुपर्ने माग राख्नुभयो ।
स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्याम भण्डारीले बेलवासवासीको समस्याप्रति आयोजना सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, विस्तृत प्राविधिक प्रतिवेदन आएपछि त्यसकै आधारमा थप तटबन्ध गर्ने वा अन्य सुरक्षात्मक उपाय अपनाउने विषयमा हामी ठोस कदम चाल्छौं ।’