अमृतप्रसाद पौडेल
म्याग्दी, बैशाख ७ गते । म्याग्दीमा चालु आर्थिक वर्षको ९ महिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने करिब ४४ सय सवारी साधनलाई कार्वाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको विभिन्न क्षेत्रमा नियमित चेकजाँच गर्दा चार हजार तीनसय ९५ सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको भेटेपछि कार्वाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारका अनुसार आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्ममा पाँचसय दुई वटा ट्रक, दुईसय ७७ बस, एक हजार पाँचसय २२ जिप तथा कार, तीनसय ९१ ट्याक्टर, एक हजार सातसय एक मोटरसाइकल र अन्य सवारी साधन २ गरी कुल चार हजार तीनसय ९५ पुगेका हुन् ।
उक्त संख्यामा सवारी साधनलाई कार्वाही गर्दा ४१ लाख ५८ हजार रुपियाँ जरिवाना अशुल गरेको छ । यसैगरी एकसय १२ वटा सवारी साधनहरु प्रयोजन विपरित सञ्चालन गरेको पाइएको छ । उक्त सवारीसाधनबाट दुई लाख १५ हजार रुपियाँ जरिवाना असुल गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यो अवधिमा तीनसय नौ सवारी चालकले माधकपदार्थ सेवनगरी सवारी सञ्चालन गरेको पाइएको थियो । उक्त सवारी चालकबाट छ लाख ४६ हजार पाँच सय रुपियाँ जरिवाना तिराइएको छ । ओभरलोड सामग्री बोक्ने एकसय ३५ सवारी साधनबाट एक लाख एक हजार जरिवाना ट्राफिकले असुलेको छ ।
९ महिनाको अवधिमा म्याग्दी जिल्लाभित्र भएका १३ वटा सवारी दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । पछिल्लो ९ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरीले एक हजार छसय ६१ वटा जनचेतना कार्यक्रम गरेर ५६ हजार सातसय २१ जनालाई सचेत गराएको छ ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९–८० मा नौ हजार दुईसय सवारी कार्वाही गर्दा ७३ लाख २७ हजार पाँच सय जरिवाना असुलेको थियो । त्यस्तै २०८०–८१ मा नौ हजार एकसय ५० सवारी कार्वाही गर्दा ६८ लाख ८८ हजार, गत आर्थिक वर्ष २०८१–८२ मा सात हजार २ सय ६५ सवारी साधन कार्वाही गरेर ५८ लाख ७९ हजार जरीवाना असुलेको थियो ।
पछिल्लो समयमा ट्राफिक नियमलाई कडाइ गर्ने, संकेत बोर्ड राख्ने, जेब्राक्रस मर्मत तथा सुचना सन्देशमुलक होर्डीङबोर्ड राख्ने कार्यमा ट्राफिक प्रहरी सक्रिय भएको छ । स्वरुप परिवर्तन गरी सञ्चालनमा रहेका सवारी कार्वाही गरी पुरानै स्वरुपमा फर्काउने, सडकमा नष्ट भएका कन्भेक्स मिरर नयाँ राख्ने जस्ता कार्यमा ट्राफिकले सक्रियता देखाउँदा सवारी दुर्घटना कम हुने म्याग्दी कोरला यातायातका मोहन केसीले बताउनुभयो ।