काठमाडौँ, वैशाख ७ गते । ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने ५५ सवारीसाधनलाई कारबाही गरेको छ । आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको थली (मुलपानी क्रिकेट ग्राउण्ड) क्षेत्रमा गरेको चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ र मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ सवारीसाधनलाई कारबाही गरेको हो ।
साठी वटा सवारीसाधन चेकजाँच गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अन्य अवस्था ठिक नभएका ४१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । अवस्था ठिक नभएका सवारीसाधन चलाउँदा सवारी दुर्घटनाको जोखिम बढ्ने, यात्रु र सडक प्रयोगकर्ताको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले चेकजाँच अभियान चलाइएको उहाँले बताउनुभयो ।
काठमाडौँको बबरमहल सडकखण्डमा आज गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चेकजाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ सवारीसाधन फेला परेका हुन् ।