• २२ मङ्सिर २०८२, सोमबार

तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा

blog

शुभारम्भ गरिएको व्यवस्थित तरकारी तथा फलफूल थोक बजार । तस्बिरः दिपक प्रसाद गौतम

दिपकप्रसाद गौतम 

वीरगञ्ज, मङ्सिर २२ गते । वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ । व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आइतबार बजार शुभारम्भ गरिएसँगै अभाव पूरा भएको छ ।

वीरगञ्ज महानगरपालिकाले वडा २ रेल्वे रोड छपकैयामा निर्माण गरिएको यो तरकारी तथा फलफूल थोक बजार पहिलो चरणमा ७० लाख रुपियाँ  खर्च गरेर १४ युनिटमा २८ सटरबाट सञ्चालनमा ल्याइएको छ । 

आगामी चरणमा थप ७० लाख रुपियाँ लगानी थपेर अझ युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजना वीरगञ्ज महानगरको रहेको छ । महानगर प्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सयुक्त रुपमा गमलामा पानी हालेर शुभारम्भ गर्नुभएको यस बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध रहेको महानगरले जनाएको छ ।

व्यवस्थित थोक बजार सञ्चालनमा आएसंगै किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता हटेको छ । बीपी उद्यानको खाली जग्गामा हाल सञ्चालनमा रहेको अस्थायी तरकारी थोक बजारलाई यस नवनिर्मित थोक बजारमा स्थानान्तरण गरिने उदघाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंहले बताउनुभयो ।     

स्थानीय समुदायको भूमिका बजार सञ्चालनको मुख्य आधार हुने धारणा राख्दै नगर प्रमुख सिंहले भन्नुभयो, ‘बजारलाई सफा, सुरक्षित र व्यवस्थित राख्न स्थानीयकै भूमिका महत्वपूर्ण हुन्छ । हुन त बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्नु पर्ने योजना हो । तर व्यवसायीको कारण ढिलाइ भएको थियो । अब यो  छपकैयावासीकै पहिचान र नाम हो ।’