काठमाडौँ, असार २४ गते । रसुवाको भोटेकोसी नदिमा आएको बाढी वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलवार बिहान ३ बजे ठुलो बाढी एक्कासि आउँदा पानीको सतह साढे तीन मिटर बढेको थियो तर उक्त क्षेत्रमा पानी परेका कारण नभएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।
नेपाल चिन सीमा नजिकै रहेको क्यान्जिङ मौसमी केन्द्र र धुन्सेमा रहेको मौसमी केन्द्रले रसुवाको सीमावर्ती क्षेत्रमा फाट्टफुट्ट मात्र पानी परेको देखाएको छ । उता पाल्पामा राखिएको मौसम जाँच राडारले समेत रसुवाको सीमावर्ती क्षेत्रमा २४ घण्टामा पानी परेको नदेखिएको विभागको ठहर छ । कसरी भएको हो भन्नेमा भूउपग्रहको तस्बिर हेरेर अध्ययन सुरु गरेको पराजुलीले जानकारी दिनुभयो ।
रसुवाको भोटेकोसी माथिको तिब्बती क्षेत्रमा धेरै हिमतालहरू भएकाले हिमताल फुटेर हुनसक्ने समेत अनुमान विभागले गरेको छ । बाढीको प्रभाव रसुवा हुँदै भोटेकोसी र त्रिसुली नदिमा परेको छ । हाल बाढी घट्दो क्रममा रहेको छ ।
विभागले प्रारम्भिक अवलोकनका आधारमा पुष्टि गरे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ । विश्व मौसम सङ्गठनको भूउपग्रहको सिस्टममा हेर्दा समेत पानी उक्त क्षेत्रमा पानी आएको देखिँदैन । बाढीले १८ जना बेपत्ता बनाएको छ भने सयौँको सङ्ख्यामा गाडी र भौतिक संरचनामा क्षति पुर्याएको छ ।