• २४ असार २०८२, मङ्गलबार

नगरप्रमुख पौडेलको चौतर्फी विरोध, अनियमितता गरेको आरोप

blog

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल ।

सचिन पाख्रेल

इटहरी, असार २४ गते । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।

आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा उहाँको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयमा उहाँले बयान दिनुपरेको उपमहानगरपालिकाकै अधिकारीहरुको भनाइ छ । प्रमुख पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारमाथि विभिन्न किसिमका आरोप प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै उहाँको कार्यशैली र रबैयाको विरोध जनाएको छ । 

प्रमुख पौडेलले इटहरीको पत्रकारिताबारे सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिप्रति महासङ्घले कडा आपत्ति जनाउँदै समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्न खोजेको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमार्फत महासङ्घले प्रेस स्वतन्त्रताविरुद्ध पौडेलले दिएको अभिव्यक्तिको भर्त्सनासमेत गरेको छ ।

त्यसैगरी पौडेलले प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसभित्रैका स्थानीय अग्रज नेता र कार्यकर्ताले अनौपचारिक बैठक गर्दै उहाँको अपारदर्शी, गैरजवाफदेही र अनियमित कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसका नेताले इटहरी उपमहानगरलाई आर्थिक दृष्टिले टाट पल्टाउने गरी पौडेलले गरेका निर्णयको छानबिनको माग गरेका छन् । अख्तियारमा पौडेलविरुद्ध परेको उजुरीको अख्तियारले बयान लिएको छ ।

इटहरी उपमहानगरपालिकाको तर्फबाट सार्वजनिक यातायातका लागि खरिद गरिएको बस प्रकरणमा करिब डेढ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको आरोप उहाँमाथि लाग्दैआएको छ । यसबाहेक अनियमित रूपमा अनावश्यक कर्मचारी पदपूर्ति गरेको, कार्यालयका अन्य बेथिति र अनियमितता गरेको भन्दै  प्रमुख पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

यस सम्बन्धमा कुरा गर्न खोज्दा उहाँ गोरखापत्रसँग बोल्न चाहनुभएन । पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले उहाँसँग आफ्नो नियमित भेट नभएको तर सामाजिक सञ्जाललगायतमा उहाँको विरुद्धमा विरोध र आलोचना भएकोबारे जानकार रहेको बताउनुभयो ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले नगरप्रमुख पौडेलको गतिविधि र कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र स्थानीयस्तरमा कडा विरोध आएको बताउनुभयो । आन्तरिक रूपमा उपमहानगरपालिकाको कार्यपालिका समिति र कर्मचारी संयन्त्रभित्र पनि उहाँको कार्यशैलीको विरोध भइरहेको पोखरेलको भनाइ छ । उहाँले यस विषयमा नगरप्रमुख पौडेलसँग भेटेर आफ्नो पक्षबाट समन्वय र सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । 

महासङ्घ केन्द्रको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रमुख पौडेलले पत्रकारितालाई बदनाम गर्ने कुत्सित मनसायले सामाजिक सञ्जालबाट व्यक्त गर्नुभएको धारणा आपत्तिजनक रहेको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, "समाचार या पत्रकारको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रचलित अभ्यास छ । त्यसलाई बेवास्ता गर्दै सार्वजनिक पदमा आसिन व्यक्तिले पदीय मर्यादाविपरीत अपनाइएको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ ।" कुनै पनि बहानामा पत्रकारलाई हतोन्साहित र बदनाम बनाउने यस्ता गतिविधि नगर्न महासङ्घले प्रमुख पौडेललाई सचेत गराएको छ ।