ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २२ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानको रुम्मा गाउँमा रहेका मौलिक कला र सिपबाट निर्माण गरिएका घरहरु भत्किन थालेका छन् । बसाइँसराइका कारण घरहरु खाली भएसँगै गाउँको पहिचान मेटिन थालेको हो ।
एक दशक अघिसम्म यस गाउँमा परम्परागत मौलिक शैलीमा बनेका घरहरु चिटिक्क परेका हुन्थे । समय समयमा मर्मत सम्भार गरिन्थे । तर आजकल ती अधिकांश घरहरु भत्किन थालेका छन् । घरको आँगन र पिँढीसम्म नै झाडी फैलिएको छ । घरहरुको मर्मत सम्भार नभएपछि भत्किन थालेका हुन् ।
रुम्मा गाउँमा बसोबास गर्ने ४३ घरमध्ये ३७ घर रित्तिएका छन् । वरपर भएको खेतीयोग्य जमिन बाँझो भएको छ । यहाँबाट बसाइँसराइ गरेर अन्यत्र गएपछि अहिले गाउँ नै सुनसान छ । बसाइँसराइ गरेर शहरबजार झर्ने र केहीको गाउँको अन्य स्थानमा पनि घरहरु भएकाले यहाँका घरहरु खाली हुँदैगएको वडाध्यक्ष मिम पुनले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका अधिकांशको दुबै स्थानमा घरहरु छन् । पहिला पहिला वर्षको केही महिना यहाँ पनि बस्ने गर्नुहुन्थ्यो,अहिले तलतिर मात्र बस्ने गरेकाले यहाँका घरहरु खाली हुँदै गएका छन् । मान्छेहरु बस्न छाडेपछि पुराना मौलिक घरहरु भत्किने अवस्थामा पुगेको छन ।’’
गाउँको पहिचान पुराना मौलिक घरहरु भएकाले मर्मत सम्भार गरी संरक्षण गर्न वडा कार्यालयले घरधनीलाई अनुरोध गरेको उहाँको भनाइ छ ।