लीलाधर वली
घोराही, भदौ १५ गते । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा भदौ १४ गते शनिबार उहाँको निधन भएको थियो ।
रुकुम पूर्व, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेरा बाछीगाउँ निवासी पुनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि रहनुभएको थियो ।
मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त
यसैबिच लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रदेशसभा सदस्य पुनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै दुःखी बनेको मुख्यमन्त्री आचार्यद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सभा सदस्यको रुपमा पुनले समाज परिवर्तन, सुशासन र जनताका आकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै भनिएको छ,“असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान् जनप्रतिनिधि गुमाएको छ ।”
‘उहाँ सधैँ दुर्गमका जनताको दुःख–पीडा, माग र अपेक्षालाई आवाज दिँदै न्याय र समानताको पक्षमा आवाज उठाउदै आउनुभएको थियो । उहाँको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आज हामी सबैका लागि प्रेरणाको स्रोत बन्नेछ,’श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरिएको छ । पुनको केहीदिन अघि एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।