• १७ मङ्सिर २०८२, बुधबार

जेनजी सहिद दिवस

blog

गोली निलेका सहिदका प्यारा ती लासले धिक्कार्ला

धर्तीले मुख लाजले छोप्ला,

आकाशले धिक्कार्ला

सहिद रोलान् हामीले उन्नति गरेर नगए ।

– कवि भूपि शेरचन


देश र जनताको हितका लागि जीवन आहुति दिने व्यक्ति सहिद हुन् । नेपालमा राणा शासनको अन्त्यदेखि हालसम्मका परिवर्तनका लागि हजारौँ व्यक्तिले बलिदान दिएका छन् । पछिल्लो पटक मुलुकमा सुशासन र भ्रष्टाचारमुक्त नेपालको सपनासहित जेनजीले जीवन उत्सर्ग गरे । जेनजी आन्दोलनको जगमा बनेको सरकारले हरेक वर्षको भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेर जेनजीको भावना आत्मसात् गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्मानमा जेनजी सहिद मनाउने निर्णय गर्नु महत्वपूर्ण काम हो । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाई सहिद घोषणा भएका व्यक्तिका परिवार आमाबुबा, श्रीमान्श्रीमती, अविवाहित छोराछोरीलाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्रसमेत उपलब्ध गराउने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । यसरी ज्यान गुमाएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेर सम्मान गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन दिन असफल भएको भन्दै नवयुवा (जेनजी) ले दुई दिन आन्दोलन गर्दा ढलेको थियो । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेको भन्दै जेनजीले भदौ २३ गते आन्दोलनमार्फत खबरदारी गरेका थिए । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर स्कुल ड्रेसका विद्यार्थीसहित २१ जना जेनजीको मृत्यु भएपछि भदौ २४ गतेको स्वतःस्फूर्त आन्दोलनले तत्कालीन सरकार विघटन हुन पुग्यो । 

भदौ २३ र २४ गते दुई दिनमै ७६ जनाको ज्यान गएपछि जेनजी आन्दोलनको जगमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको काँधमा आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउनुका साथै भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने गहन जिम्मेवारी छ । देशमा जेनजीको योगदानलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य, पारदर्शिता कायम, सुशासन स्थापित गर्ने अठोटलाई बलियो बनाउँदै हरेक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको हो । हालसम्म नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । राणा शासनकाविरुद्ध सङ्घर्ष गर्दा विसं १९९७ सालमा धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेका थिए । उनीहरूको सम्झनामा नेपालमा सहिद दिवस मनाउन थालिएको हो । लखन थापा नेपालको पहिलो सहिद हुन् । नेपाल सरकारले थापालाई पहिलो सहिदको मान्यता दिएको छ । राणा शासनका विरुद्धमा विद्रोहमा लागेको आरोपमा विसं १९३३ फागुन २ गते गृह जिल्ला गोरखामा थापाको हत्या गरिएको थियो । राणा शासनको विरोध गरेको भन्दै विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवतीनजिक मृत्युदण्ड दिइएको थियो । नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर दण्डित गरिएको थियो । यो घटनापछि जेल बन्दीहरूले जेलमै सहिद दिवस मनाउन थालेका थिए । 

१९९७ सालको घटनापछि नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्र, जनजीविकाका लागि भएका आन्दोलनमा कैयौँ वीर वीराङ्गनाले सहादत प्राप्त गरेका छन् । विद्यार्थी आन्दोलनमा काठमाडाैँको विश्व निकेतन स्कुलका विद्यार्थी चिनियाँ काजी श्रेष्ठदेखि पञ्चायतकालमा विद्यार्थीहरू मित्रमणि आचार्य, फणीन्द्र तिमिल्सिना, शिव पौडेल, शिक्षक टङ्क भुसालले सहादत प्राप्त गरेका थिए । २०४६ को जन आन्दोलनमा २१ जनाले, २०६२/६३ को जन आन्दोलनमा २५ जनाले सहादत प्राप्त गरेका थिए । १० वर्षसम्म चलेको माओवादी युद्धमा १७ हजारभन्दा बढी नेपाली मारिए । मधेश आन्दोलनका क्रममा पनि दर्जनौँ नेपाली मारिएका छन् । सहिदहरूको त्याग बलिदानकै कारण आजको व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको हो । सत्तामा पुगेपछि सहिद दिवस औपचारिकतामा सीमित राख्ने, सहिदको सपना बिर्सने र व्यक्तिगत स्वार्थ सिद्धिमा लाग्ने प्रवृत्ति मौलाएको छ । देश र जनताको सुन्दर भविष्यको सपना देखेका ज्यानको आहुति दिएका सहिदका सपना पूरा भएका छैनन् । पछिल्ला जेनजी सहिददेखि यसअघिका सबै सहिदको सपना साकार गर्न अब मिलेर मुलुकमा सुशासन र समृद्धि ल्याउनु पर्छ । देश र जनताविरोधी काम गर्ने भ्रष्टाचारी तथा अपराधीलाई दण्डित गर्नु पर्छ । राजनीतिको नाममा छुट दिनुहुँदैन ।