बोमलाल गिरी
नवलपुर, मंसिर २२ गते । नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
वडा अध्यक्ष नारायण लोहनीको नेतृत्वमा ठूलो संख्यामा उपस्थित भएका स्थानीयले आगामी १५ दिनभित्र छुट जग्गा दर्ताको प्रक्रिया अघि बढाउन, भूमाफियाको नाममा लुकिछिपी बनाइएका पूर्जाको खारेजी तथा सम्बद्ध व्यक्ति तथा कर्मचारीलाई आवश्यक कारवाही हुनुपर्ने माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।
कावासोती नगरपालिका साविक शिवमन्दिर नक्सा नम्बर (क, ख र ग) को पटक पटक आफ्नै वा एकाघरको नाममा फिल्डबुक कायम भएको छुट जग्गा दर्ता गराउन अनुरोध गर्दासमेत सुनुवाई नभएको पिडीतको गुनासो छ ।
वडाध्यक्ष लोहनीले प्रजिअ भविश्वर पाण्डे र मालपोत अधिकृत हरिकृष्ण सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै १५ दिनभित्र नक्साको छुट जग्गा दर्ता नभएमा थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
जवाफमा प्रजिअ पाण्डे र मालपोत अधिकृत सुवेदी पीडितको मागलाई गम्भीर रुपमा लिएको बताउँदै थप अध्यन गरेर निर्णय गरिने बताएको अध्यक्ष लोहनीले जानकारी दिनुभयो ।
८०९ घरधुरी रहेको कावासोती –४, हसौरामा पुस्तौँदेखि खनजोत गरेर बसोबास गरिरहेका छसय घरधुरीको जग्गाधनी पुर्जा अर्कै व्यक्तिको नाममा रहेको लोहनीले बताउनुभयो । उहाँका अनुसार साविक शिव मन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा बाहिरका भूमाफियाले कब्जा गरेका छन् ।