• २२ मङ्सिर २०८२, सोमबार

उपत्यकामा ढुङ्गेधारा संस्कृति

blog

काठमाडौँ उपत्यका मौलिक कला र संस्कृतिले धनी छ । उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा कला र संस्कृतिमा विविधताका साथै एकता पनि कायम छ । पछिल्लो कालखण्डमा उपत्यका घनाबस्तीले भरिँदा यहाँका पवित्र बागमती, विष्णुमती नदी तथा अन्य खोलानाला ढलको अंश बनेका छन् । यहाँका ऐतिहासिक ढुङ्गेधारा (हिति) मासिने र नासिने क्रममा छन् । उपत्यकामा पाइपमार्फत पानी वितरण प्रणालीको विकास हुनुभन्दा अघिसम्म ढुङ्गेधारा र इनार नै खानेपानी आपूर्तिको प्रमुख स्रोत थिए । ढुङ्गेधारा र इनारको पानी सफा र पवित्र थियो । सांस्कृतिक एवं पुरातात्त्विक महत्व बोकेका यस्ता ढुङ्गेधारा तथा इनारले उपत्यकावासीको पानीको आवश्यकता पूरा गर्नुका साथै सहरी सभ्यता र सौन्दर्यीकरणमा समेत सघाएका थिए । ढुङ्गेधारामा विभिन्न देवीदेवता तथा नागका मूर्ति कुँदिएका छन् । मूलतः ढुङ्गेधारा ढुङ्गा खोपेर खानेपानी खसाल्ने व्यवस्था गरिएको परम्परागत धारा वा एक प्रकारको खानेपानी आपूर्तिको सामुदायिक प्रणाली हो । नेपाल भाषामा ढुङ्गेधारालाई ‘हिति’ भन्ने गरिन्छ । पाइपबाट घरघरै पानी वितरण गर्ने आधुनिक प्रणाली विकसित नहुन्जेल उपत्यकामा खानेपानीको मुख्य स्रोत नै ढुङ्गेधारा, इनार र कुवा थिए । लिच्छवि र मल्ल कालमा उपत्यकामा ढुङ्गाका कलात्मक धारा बनाई विभिन्न टोल र अरू सार्वजनिक स्थलमा खानेपानी खसाल्ने व्यवस्था गरिएको थियो । यसमा परम्परागत संस्कार र संस्कृति पनि अभिन्न रूपले जोडिएका छन् । 

अधिकांश ढुङ्गेधारा गोही आकारमा देउता थपना गरी बनाइएको छ । ढुङ्गेधारामा नाग वा बाघका टाउका जस्ता देखिने कलात्मक आकृति वा देवीदेवताका मूर्तिसमेत कोरेर पूज्य रूपमा राखिएको छ । ढुङ्गेधारामुनि भगीरथको मूर्ति राखिएको छ । भगीरथले गङ्गालाई स्वर्गबाट ल्याई धर्तीवासीलाई पानी खुवाएको धार्मिक विश्वास छ । त्यसैले ढुङ्गेधारा सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् । यी सम्पदा धार्मिक सहिष्णुताका प्रतीक पनि हुन् । बालाजुका कलात्मक बाइस धारा र ललितपुरको कुम्भेश्वरका धारा स्नानको धार्मिक महत्व बेग्लै छ । कुम्भेश्वरका धारामा आउने पानीको मुहान पवित्रस्थल गोसाइँकुण्ड हो भन्ने किंवदन्ती छ । अहिले बाइस धारामा त हिउँदको समयमा पानी आउन छोडिसकेको छ भने कुम्भेश्वरका धारामा पनि पहिलेको तुलनामा पानी आधा घटिसकेको छ । सुन्धारा जस्तो ऐतिहासिक महत्व बोकेको धारा सुकेको पनि दुई दशकभन्दा बढी भयो । उपत्यकाको नदी सभ्यता र ढुङ्गेधारा संस्कृति एकसाथ सङ्कटमा पर्नु गम्भीर चिन्ताको विषय भएको छ । उपत्यकाका तीन जिल्लामा केही वर्षअघिसम्म ३५० वटा ढुङ्गेधारा थिए । तीमध्ये धेरै ढुङ्गेधारा मासिए । अहिले २९० वटा ढुङ्गेधारा छन् । धेरैमा पानी आउँदैन । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययन अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका १७९ ढुङ्गेधारामध्ये लोप भएर १५४ वटा मात्र फेला परेको छन् । यीमध्ये ६१ वटामा मात्र सानो पानी आउने गरेको छ । ललितपुर महानगरपालिका क्षेत्रभित्र ८० वटा ढुङ्गेधारा रहेकोमा आठ वटा लोप भइसकेका छन् । यीमध्ये पनि ३० वटामा मात्र पानी आउने गरेको छ । 

भक्तपुरमा ढुङ्गेधाराको सङ्ख्या ९१ भएकोमा ७३ वटा त सुकिसकेको अवस्था छ । ढुङ्गेधाराको अस्तित्व कायम राख्न काठमाडौँ र ललितपुर महानगरपालिकाले पछिल्ला दिनमा अभियान नै सञ्चालन गर्दै आएका छन् । ढुङ्गेधाराको सरसफाइ तथा पानीको स्रोत पत्ता लगाई संरक्षण गर्ने प्रयास हुँदै छ । ललितपुर महानगरपालिकाले पनि नगरक्षेत्रका ढुङ्गेधारा संरक्षणका लागि विशेष कार्ययोजना नै बनाएर ढुङ्गेधाराको अस्तित्व कायम राख्न दीर्घकालीन योजना अगाडि सारेको छ । पानी पुनर्भरण गर्ने हिसाबले राजकुलो र पोखरीसहितको कार्ययोजना महानगरले अगाडि बढाएको छ । भक्तपुर नगरपालिकाले पनि नगरका सबै ढुङ्गेधाराको नियमित सरसफाइ गर्नुका साथै पानी नआउने धारामा खानेपानी वितरण प्रणालीको पाइपमार्फतसमेत पानी झार्ने प्रयास गरिएको छ । बढ्दो सहरीकरणले उपत्यकाको खानेपानी सङ्कटले दिनानुदिन विकराल रूप लिँदै छ । दैनिक ४३ करोड लिटर पानी आवश्यक भएको उपत्यकामा मुस्किलले दस करोड लिटर र मेलम्ची आयोजना नियमित भएको अवस्थामा दैनिक १७ करोड लिटर पानी थप हुँदासमेत माग अनुसारको आपूर्ति नहुने अवस्था छ । काठमाडौँ महानगरपालिका–२१, यङ्गालमा रहेको येँगा हिति बिउँतिएको छ । एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो । गोरखापत्र दैनिकमा आइतबार प्रकाशित यो समाचारले स्थानीयवासीलाई उत्साहित बनाएको छ । अतः उपत्यकाभित्र रहेका ढुङ्गेधारा पहिलेकै अवस्थामा जोगाउन सकिएको खण्डमा खानेपानीको समस्या केही हदसम्म समाधान हुने साथै कला र संस्कृतिको संरक्षणमा टेवा पुग्ने छ ।