शेरबहादुर राई
ओखलढुङ्गा, फागुन २१ गते । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।
मतदानका लागि सम्पूर्ण तयारी पूरा भए पनि मतदाता उपस्थित नहुँदा बिहानको समय शून्य मतदानमा बितेको हो। प्रत्यक्षतर्फ स्थानीयले मतदान बहिष्कार गरेपनि समानुपातिकतर्फ कर्मचारीको चार मत खसेको छ ।
मतदान अधिकृत परबासी राईका अनुसार मतदान केन्द्रमा कर्मचारी, सुरक्षा व्यवस्था लगायत सबै तयारी अवस्थामा रहे पनि स्थानीय स्तरमा देखिएको असन्तुष्टिका कारण मतदाता उपस्थित नभएका हुन् ।
स्थानीयका अनुसार टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको थियो। सोही आधारमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भए पनि निर्माणका लागि आवश्यक बजेट विनियोजन नभएपछि जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको हो।
यस विषयलाई लिएर स्थानीय माधव ढुङ्गानाको नेतृत्वमा सङ्घर्ष समिति गठन गरिएको छ। समितिले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित नभएसम्म मतदानमा सहभागी नहुने निर्णय गरेको जानकारी गराएको छ ।