दृष्टिविहीन शिक्षक महेश दवाडीको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा सहभागी हुन आउँदा उहाँले प्रयोग गर्दै आएको ‘सेतो छडी’ भाँचियो । उहाँसँगै कार्यक्रममा सहभागी हुन आउनुभएकी शारीरिक अपाङ्गता भएकी उहाँकी श्रीमती सङ्गीता काफ्लेले प्रयोग गर्दै आउनुभएको बैशाखी पनि टुटेको अवस्थामा थियो । उहाँहरूले तुरुन्त ती सामग्री पाउने अवस्था नभएपछि घर कसरी फर्कने र दैनिक दिनचर्या चलाउन हुने समस्याबारे चिन्ता व्यक्त गर्नुभयो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा भएको प्रारम्भिक मत गणनाअनुसार सुरुदेखि अग्रतामा रहेका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीलाई उछिन्दै नेकपा (एमाले) बालकृष्ण सिवाकोटीले अग्रता लिनु भएको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कि मृतक २१ वर्षीया माया लुहारको मोबाइल फोन बैतडी प्रहरीले फेला पारेको छ। हत्यामा संलग्न भएको आरोप लागेका युवाले खोसेर राखेको भनिएको मोबाइल फोन प्रहरीले फेला पारेको हो। घटनाको अनुसन्धान गर्ने क्रममा युवती मृत भेटिएको ठाउँ शिवनाथ गाउँपालिका–६ भन्दा एक घण्टाको पैदल दूरीमा रहेको पञ्चेश्वर गाउँपालिका–४ मा मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो।
बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो ।
अपाङ्गता भएका नागरिकले राज्यबाट उचित सहयोग प्राप्त नभएको गुनासो गरेका छन्। ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका नागरिकले यस्तो बताएका हुन्। काम गर्न नसक्ने अवस्थाका नागरिकको जीवन दयनीय रूपमा बितिरहेको बताउँदै राज्यले उचित सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। सिमकोट गाउँपालिका–५ का जनक परियारले अपाङ्गता भएकै कारण आफ्नो जीवन दयनीय रूपमा बितिरहेको बताउँदै आफूजस्ता नागरिकलाई राज्यले हेर्न नसकेको गुनासो गर्नुभयो।
बाजुराको प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश (ख) मा नेपाली कांग्रेस उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २० हजार ११९ मत प्राप्त गरी शाही विजयी हुनुभएको हो ।
जाजरकोटका दुई पालिकासँग आफ्नो भवन नभएकाले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको जुनीचाँदे र छेडागाड नगरपालिकाको प्रशासनिक भवन नहुँदा भाडाका भवनबाट सेवा प्रवाह भइरहेको छ। सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट, कुशे, शिवालय गाउँपालिकाले प्रशासनिक केन्द्र तोकिएको स्थानमा भवन निर्माण गरी सेवा विस्तार गरिसकेका छन् भने छेडागाड र जुनीचाँदेले आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिएका छन्।
नवनिर्वाचित सांसदहरू शपथ लिएर संसद् भवन प्रवेश गर्ने तयारी हुँदै गर्दा बुटवलमा विद्यार्थीले नमुना संसद् चलाएका छन्। बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका कानुन सङ्कायका विद्यार्थीले नमुना संसद् अभ्यास गर्दै बैठक चलाएका हुन्। सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यदेखि मर्यादापालकसम्म सबै भूमिकासहित विद्यार्थीले नमुना संसद् बैठक चलाएका हुन्। उनीहरूको संसदीय अभ्यासले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनकै झल्को दिएको थियो। कालिका मानव ज्ञान माविको समन्वय तथा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको नमुना संसद् कार्यक्रममा रुपन्देही जिल्लामा कानुन पढाइ हुने विभिन्न छवटा स्कुल तथा क्याम्पसका ४६ जना विद्यार्थीले सांसदको भूमिका निर्वाह गरेका थिए।
पहिलो कार्यकालमा नाम र स्थायी राजधानी टुङ्गाएको लुम्बिनी प्रदेशले दास्रो कार्यकालको पहिलो बैठक स्थायी राजधानी दाङबाटै गर्ने तयारी गरेको छ। नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने र प्रदेश सभाको बैठक पनि दाङमै राख्ने तयारी तीव्र पारिएको हो। नाम लुम्बिनी र ठाउँ दाङको राप्ती उपत्यका देउखुरीलाई तोके पनि राजधानी कार्यान्वयनको काम सुस्त गतिमा चलेको थियो। अहिले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकेर राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारकै काममा लुम्बिनी प्रदेश सरकार लागेको छ। राजधानीसँग सम्बिन्धित भौतिक पूर्वाधारको कामलाई गति दिन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राप्ती गाउँपालिकाको भवनमा कार्यालय स्थापना गरी कामको निगरानी थाल्नुभएको छ।
हिमाली जिल्ला मनाङमा लैङ्गिक हिंसाका उजुरी शून्य रहेको छ। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
वैज्ञानिक वनको अवधारणा अनुरूप रौतहटको वन क्षेत्रमा हुर्काइएका सालका बिरुवा संरक्षणको अभावमा हुर्कन सकेका छैनन्।
ग्रामीण भेगका महिलाको थाप्लोमा मात्रै रहेको काम गाज्जो (खर) काट्ने क्रममा गएको तीन हप्ताभित्र बैतडीमा चार महिलाले ज्यान गुमाएका छन्। प्रत्येक वर्ष सहरी क्षेत्रमा मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानका नाराले घाँसको त्यान्द्राका लागि ज्यान गुमाउने ग्रामीण भेगका महिलालाई छुन सकेको छैन।
काठमाडाैँस्थित थापाथलीको सुकुम्बासी बस्ती अहिले मुलुकभर नै चर्चा र चासोका रूपमा रहेको छ । यसैबीच दुई निकाय काठमाडाँैं महानगरपालिका तथा राष्ट्रिय भूमि आयोगबीच यसै विषयलाई लिएर द्वन्द्व सुरु भएको छ । यी दुई निकायबीच सुकुम्बासीको व्यवस्थापनका साथै उनीहरूले बसोबास गर्दै आएको सार्वजनिक जग्गा खाली गराएर त्यसको संरक्षण गर्ने विषयमा भिन्न–भिन्न मत देखिनु राम्रो होइन । यसले राजधानी काठमाडौँलाई व्यवस्थित सहर बनाउने चाहनामा प्रतिकूल प्रभाव परेको छ । धेरै पहिलेदेखि जटिल समस्या बन्दै आएको बागमती नदीछेउको सुकुम्बासी बस्ती समाधान गर्नैपर्ने मूल कार्यसूची हो र त्यसनिम्ति विधि र प्रक्रियाअनुरूप अगाडि बढ्नुको विकल्प नै छैन ।