• १२ असोज २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिको सहायक सामग्री अभाव

blog

काठमाडौँ, मङ्सिर १८ गते । दृष्टिविहीन शिक्षक महेश दवाडीको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रममा सहभागी हुन आउँदा उहाँले प्रयोग गर्दै आएको ‘सेतो छडी’ भाँचियो । उहाँसँगै कार्यक्रममा सहभागी हुन आउनुभएकी शारीरिक अपाङ्गता भएकी उहाँकी श्रीमती सङ्गीता काफ्लेले प्रयोग गर्दै आउनुभएको बैशाखी पनि टुटेको अवस्थामा थियो । उहाँहरूले तुरुन्त ती सामग्री पाउने अवस्था नभएपछि घर कसरी फर्कने र दैनिक दिनचर्या चलाउन हुने समस्याबारे चिन्ता व्यक्त गर्नुभयो  । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल अपाङ्गता कोषद्वारा शनिबार ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सहभागी हुन आउनु भएका अपाङ्गता भएका एक दम्पतीको  अवस्थाबाट नेपालमा अपाङ्गता भएका व्यक्तिको सहायक सामग्रीको पहुँचमा कमी र अभावलाई  दर्शाउँछ । 

सरकारी स्तरमा भृकुटीमण्डपस्थित अपाङ्गता कोषले मात्र अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्दै आएको छ । नेपालमा ती सामग्री नबन्ने र विदेशबाट आयात गर्नु पर्दा बजेटको कमीले ती सामग्रीको अत्यन्त अभाव हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ । दवाडीको त्यो सेतो छडी पनि करिब सात महिनाअघि अपाङ्गता कोषले नै प्रदान गरेको थियो । त्यसको गुणस्तर राम्रो नहुँदा छिट्टै भाँचिएको उहाँले बताउनुभयो । 

सोही कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी नै उपस्थित भएर सहायक सामग्रीको माग गर्दै कोषमा नाम टिपाएका लक्ष्मी बुढा, सुदीप गिरी र कृष्ण तामाङलगायतलाई केही थान सहायक सामग्री पनि वितरण गर्नुभएको थियो । उहाँले गैरसरकारी संस्थासँग सहकार्य गरेर भए पनि सहायक सामग्री उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

सो मन्त्रालयका सचिव डिल्लीराम शर्माले अपाङ्गता भएका व्यक्तिको जीवनलाई सहज बनाउन मद्दत पु-याउने सहायक सामग्री स्वदेशमै बने ती सामग्रीको पहुँच आवश्यक व्यक्तिसमक्ष पु-याउन सकिने बताउनुभयो ।