• १२ असोज २०८१, शनिबार

घाँसको त्यान्द्रोले लिन्छ महिलाको ज्यान

blog

गोकर्ण दयाल

बैतडी, मङ्सिर १८ गते । ग्रामीण भेगका महिलाको थाप्लोमा मात्रै रहेको काम गाज्जो (खर) काट्ने क्रममा गएको तीन हप्ताभित्र बैतडीमा चार  महिलाले ज्यान गुमाएका छन्। प्रत्येक वर्ष सहरी क्षेत्रमा मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानका नाराले घाँसको त्यान्द्राका लागि ज्यान गुमाउने ग्रामीण भेगका महिलालाई छुन सकेको छैन। 

घाँसको त्यान्द्राका लागि कठिन भीर चढ्नु पर्दा गत शनिबार बैतडीको पुरचौडी नगरपालिका–६ कि ३२ वर्षीया लीला खडायतको भीरबाट लडेर मृत्यु भएको छ। कात्तिक १९ गते खर काट्ने क्रममा भीरबाट लडेर सिगास गाउँपालिका–४, बरमका अर्की महिला ४५ वर्षीया गौरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

सो घटना सेलाउन नपाउँदै सिगास गाउँपालिका–८, लुपुण घर भएकी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले बताउनुभयो।

मृतक धामी गाउँपालिका कम्प्युटर अपरेटर पदमा कार्यरत हुनुहुन्थ्यो। घाँस काट्ने बेला भीरमाथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी एक महिलाको उपचारमा आर्थिक समस्या भएको छ। पञ्चेश्वर गाउँपालिका–३, द्वारी बस्ने पद्मा तिरुवाको उपचारमा समस्या भएको हो। 

यही मङ्सिर ८ गते जलखान भन्ने वनमा घाँस काटिरहेका बेला भीरमाथिबाट खसेको ढुङ्गाले पद्माको टाउकोमा गम्भीर चोट लागेको थियो। उहाँको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ।

कृषिमा आत्मनिर्भर बैतडीका ग्रामीण क्षेत्रमा गाज्जो ( खर) काट्ने काम महिलाले मात्रै गर्दै आइरहेका छन्। कात्तिकदेखि मङ्सिरसम्म बिहान घाम नझुल्किँदै महिला रुखो पिठो खाएर हँसिया र नाम्लो बोकेर दिनभरि कठिन भीरमा चढेर घाँसका त्यान्द्रा काट्दै हिउँदभरिका लागि पशु आहारा जुटाउने गर्छन्। 

भीरबाट लडेर ज्यान गुमाउने परिवारलाई स्थानीय सरकारले कुनै क्षतिपूर्ति र घाइतेलाई औषधि उपचारको व्यवस्था नभएको ग्रामीण महिला सबिता बोहराले गुनासो गर्नुभयो।