• १२ असोज २०८१, शनिबार

विद्यार्थीले गरे नमुना संसद्को अभ्यास

blog

छविलाल पाण्डे 

बुटवल, मङ्सिर १८ गते । नवनिर्वाचित सांसदहरू शपथ लिएर संसद् भवन प्रवेश गर्ने तयारी हुँदै गर्दा बुटवलमा विद्यार्थीले नमुना संसद् चलाएका छन्।  बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका कानुन सङ्कायका विद्यार्थीले नमुना संसद् अभ्यास गर्दै बैठक चलाएका हुन्।

सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यदेखि मर्यादापालकसम्म सबै भूमिकासहित विद्यार्थीले नमुना संसद् बैठक चलाएका हुन्। उनीहरूको संसदीय अभ्यासले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनकै झल्को दिएको थियो। कालिका मानव ज्ञान माविको समन्वय तथा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको नमुना संसद् कार्यक्रममा रुपन्देही जिल्लामा कानुन पढाइ हुने विभिन्न छवटा स्कुल तथा क्याम्पसका ४६ जना विद्यार्थीले सांसदको भूमिका निर्वाह गरेका थिए। 

पहिलो दिनको बैठकलाई हिउँदे अधिवेशन र दोस्रो दिनको बैठकलाई बजेट अधिवेशन नाम दिएर नमुना सासंद सञ्चालन गरिएको थियो। 

कालिका मानव ज्ञान माविमा कक्षा १२ कानुन समूहमा अध्ययनरत विद्यार्थी आशिष पाण्डे सभामुख बन्नुभएको थियो। राष्ट्रिय पोसाक दौरा सुरुवालमा ठाँटिएका सभामुख पाण्डेले बैठक सञ्चालन निकै जिम्मेवारीबोधका साथ गर्नुभएको थियो।  

दुई दिन चलेको बैठकमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रमुख सचेतक, प्रदेश सभा सचिवको रूपमा छुट्टाछुट्टै विद्यार्थीहरूले अभ्यास गरेका थिए। प्रत्येक भूमिकामा विद्यार्थीहरू परिपक्व सांसदजस्तै प्रस्तुत भएको लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो। 

प्रदेश सभामा उनीहरूले संसद्मा विधेयक प्रस्तुत गर्ने, त्यसमाथि छलफल गर्ने र पारित गर्ने तरिकाको अभ्यास गरेका थिए। सत्तापक्ष र प्रतिपक्ष सांसदको भूमिकाको पनि अभ्यास गरेको कालिका मानव ज्ञान माविका कानुन सङ्कायका प्रमुख युवराज कँडेलले बताउनुभयो। 

कँडेलले भन्नुभयो, “कानुनसम्बन्धी विषय अझ व्यावहारिक हुनुपर्छ भन्ने हिसाबले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ।” लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले नमुना संसद् कार्यक्रममा उपस्थित भएर विद्यार्थीलाई हौसला प्रदान गर्नुभएको थियो।