• १२ चैत २०८२, बिहिबार

‘खरानी टकटकाएर फेरि उठ्ने छौं’

blog

पर्वत कुश्मा नगरपालिकास्थित कटुवाचौपारीका आगलागी पीडित युवा रामसागर लामिछाने र लामिछानेको आगलागीले ध्वस्त भएको डेरी उद्योग ।

प्रनिश गिरी

कुश्मा, पर्वत चैत १२ गते । गाउँमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी युवा हुनुहुन्छ पर्वत घर भएका ३९ वर्षे रामसागर लामिछाने । उद्यमी युवा लामिछाने आगलागीले ध्वस्त भएको आफ्नै डेरी उद्योगको खरानी टकटकाएर पुनः उठ्न खोज्दै गरेका युवा हुन् । 

जिल्लाको कुश्मा नगरपालिका–९, कटुवाचौपारी घर भएका युवा लामिछानेको जीवनमा यही चैतको ३ गते दिउँसो कहिल्यै नसोचेको दुर्घटना आइलाग्यो । आफ्नै आँखा अगाडि वर्षाैको आफ्नो लगानीमा स्थापना गरेको रसल डेरी उद्योगमा अचानक आगलागी हुँदा केही क्षणमा खरानी हुन पुग्यो । घरकी श्रीमतीले ग्यासमा दुध तताउँदै गर्दा ग्यास लिक भई आगलागी हुन पुगेको थियो । 

आगलागीमा परी डेरी उद्योगमा प्रयोगमा आएका दुध तताउने मेसिन, चिस्याउने मेसिनसँगै दुग्धजन्य उत्पादित सबै खाद्यान्न सामग्रीहरू गरी लाखौं मूल्य बराबरका भौतिक सम्पत्ति स्वाहा भए । अदम्य साहस भएका युवा लामिछाने आगलागीले पुर्‍याएको नोक्सानीले निराशाभन्दा पनि पुनः उठ्नुपर्छ भन्ने आत्मविश्वास राख्नुहुन्छ । 

युवा उद्यमी लामिछाने भन्नुहुन्छ, ‘जीवनमा नसोचेको विपत्ति आइलाग्यो । मलाई मेरो माटोको माया छ । यहीँ माटोमै केही गर्नुपर्छ भनी विदेशमा राम्रो कमाइ हुँदाहुँदै फर्किएको हो । फेरि धुँवा र खरानी टक्कटकाएर पहिलेभन्दा अरू बढी सङ्घर्ष आफ्नै गाउँमा गर्छु । गाउँमै बसेर मैले मासिक एक लाख रकमसम्म सजिलै कमाउन सकेको थिए । दुःख गरे फेरि पनि कमाउन सकिन्छ ।’ 

पीडित युवा लामिछाने श्रम, पसीना रोजगारीका लागि पाँच वर्ष दक्षिण कोरिया बसेर फर्किएका हुन् । कोरियामा लिएको कामको अनुभव र डेरी उद्योगमा गरेको कडा मिहिनेतले गाउँमै बसेर राम्रो कमाइ गरेको अनुभवका कारण पनि युवा लामिछानेलाई केही गर्न सक्छु भन्ने आत्मविश्वास अझै जीवित छ । 

कोरियाबाट कमाइ ल्याएको करिब ४५ लाख रुपियाँ साथै उद्योगबाट कमाइ गरेको रकम समेत डेरी उद्योग सञ्चालनमा लगानी गरेको लामिछानेको भनाइ छ । जस्तोसुकै विपत्तिमा पनि हिम्मत हार्नु हुन्न भन्ने मान्यता राख्ने युवा लामिछानेले आगलागीले ध्वस्त भएको डेरी उद्योग पुनः सञ्चालन गर्छु भनी लाग्नुभएको छ । डेरी उद्योग सञ्चालनका लागि युवा लामिछानेले आवश्यक रकमको जोहोका लागि बैंकिङ ऋण र साथीभाइसँग ऋण सापटी गर्न थालेको बताउनुहुन्छ ।

कोरियाबाट फर्कदै गर्दा अब कहिल्यै रोजगारीका लागि विदेश नफर्कने आटोपिठो खाएर भए पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच युवा लामिछानेले सोच लिएका थिए । कोरियामा रहँदा कृषि फर्ममा कार्यरत लामिछानेले दुध प्रशोधन गरी उत्पादन गरिने खाद्य पदार्थबारे समेत उतै केही जानकारी राखेको हुँदा पनि डेरी उद्योगमा रुचि रहेको बताउनुहुन्छ । उद्योगका लागि लामिछानेलाई आमा र श्रीमतीको साथ सहयोग रहेको छ भने आवश्यक पर्दा कामदार लगाइन्छ ।

युवा लामिछानेका अनुसार डेरी उद्योगमा उत्पादन हुने कुराउनी, पनीर, दुध, दही, छुर्पी, खुवालगायतका खाद्य सामग्रीहरू स्थानीय किसानबाट खरिद गरिएको दुधबाट नै तयार पारिन्थे । उत्पादित दुग्धजन्य सामग्री अधिकांश स्थानीय बजारमा नै खपत हुने हुँदा बजार खोज्नको कुनै समस्या थिएन । 

डेरी उद्योगका लागि चाहिने करिब २ सय ७० लिटर दुध गाउँ वरपरकै फलेवास, रुग्दी, नुहार, भेडाबारे लगायत स्थानबाट स्थानीय किसानसँग खरिद हुने गर्दछ ।