• १२ असोज २०८१, शनिबार

भाडाको भवनबाट सेवा प्रवाह

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, मङ्सिर १८ गते । जाजरकोटका दुई पालिकासँग आफ्नो भवन नभएकाले भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। जिल्लाको जुनीचाँदे र छेडागाड नगरपालिकाको प्रशासनिक भवन नहुँदा भाडाका भवनबाट सेवा प्रवाह भइरहेको छ। सातवटा पालिका रहेको जाजरकोटमा भेरी, नलगाड नगरपालिका, बारेकोट, कुशे, शिवालय गाउँपालिकाले प्रशासनिक केन्द्र तोकिएको स्थानमा भवन निर्माण गरी सेवा विस्तार गरिसकेका छन् भने छेडागाड र जुनीचाँदेले आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिएका छन्।  

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा प्रशासनिक केन्द्र र प्रशासनिक भवन निर्माण कार्य सुरु हुन सकेको छैन। 

पहिलो स्थानीय तहका जनप्रतिनिधिले प्रशासनिक केन्द्रको टुङ्गो नलगाउँदा लामो समयसम्म भाडाकै भवनबाट सेवा प्रवाह गर्न बाध्य भएको ती गाउँपालिकाले जनाएका छन्। 

छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले अब प्रशासनिक केन्द्रको टुङ्गो लगाइसकिएको र भवन निर्माणका लागि प्रक्रिया अघि बढाउने बताउनुभयो। 

पालिकाको आफ्नै भवन नहुँदा सेवा प्रदायक निकाय र सेवाग्राहीलाई समेत सेवा प्रवाहमा असहज भएको छ। छिट्टै भवन निर्माण गरी पालिकाबाट प्रवाह हुने सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने उहाँले दाबी गर्नुभयो। 

जुनीचाँदे गाउँपालिकाको केन्द्र विवादका कारण पहिलो स्थानीय तहको निर्वाचन भएपछि करिब चार वर्ष सदरमुकामबाटै सेवा प्रवाह गरिएको थियो। हाल प्रशासनिक केन्द्र साबिक मजकोट गाउँ विकास समितिको कार्यालय परालेबाट सेवा विस्तार गरिएको छ। साबिक गाउँ विकास समितिका भवन र केही भाडाका घरबाट सेवा प्रवाह गरेको जुनीचाँदे गाउँपालिका–१ का वडाध्यक्ष प्रेम कार्कीले बताउनुभयो। पहिलो कार्यकालका जनप्रतिनिधिले पारित गरेको स्थान लुहादह भएकाले सोही स्थानमा प्रशासनिक केन्द्र हुनुपर्ने माग गर्दै निवर्तमान पालिका अध्यक्ष कृष्णबहादुर केसीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले अदालतले फैसला नगरुन्जेल प्रशासनिक केन्द्रको टुङ्गो लाग्न नसक्ने उहाँले बताउनुभयो।