• १३ साउन २०८१, आइतबार

संरक्षणको अभावमा बढेनन् सालका बिरुवा

blog

यादवराज पुरी 

रौतहट, मङ्सिर १८ गते । वैज्ञानिक वनको अवधारणा अनुरूप रौतहटको वन क्षेत्रमा हुर्काइएका सालका बिरुवा संरक्षणको अभावमा हुर्कन सकेका छैनन्। 

वैज्ञानिक वनको अवधारणा खारेज भएपछि चन्द्रपुर नगरपालिकाको विभिन्न सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेका सालका बिरुवा संरक्षण नहुँदा हुर्कन नसकेको हो। वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यविधि पाँच वर्षअघि नै तयार भई सामुदायिक वनले कार्यान्वयनसमेत गरिसकेको थियो। वन क्षेत्रलाई वैज्ञानिक र दिगो रूपमा संरक्षण गर्न वैज्ञानिक वनको अवधारणा अघि सारिएको हो तर केही जिल्लामा यसैमा अनियमितता बढेको भन्दै सरकारले यसलाई खारेज गरेको थियो। 

रौतहटमा हातेमालो, जनएकता, जनचाहना, भोर्लेनी, तिलेश्वर, देउराली र नमुना गरी सात वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरी सालका बिरुवा हुर्काइएको थियो। डिभिजन वन कार्यालय चन्द्रपुरको तथ्याङ्कअनुसार रौतहटको सामुदायिक वनले आ–आफ्नो वन क्षेत्रभित्र १० हजारभन्दा बढी सालका बिरुवा हुर्काएका छन्। अहिले सबै सामुदायिक वन क्षेत्रका सालका बिरुवाको संरक्षण हुन सकेको छैन। 

हातेमालो सामुदायिक वनका अधिकारी सालिकराम न्यौपाने भन्नुहुन्छ, “वैज्ञानिक वनको अवधारणा लागू भएपछि हुर्काइएको सालका बिरुवाको सामुदायिक वनका पदाधिकारी एवं सदस्यले समय समयमा गोडमेल गरी अनावश्यक हाँगा काँटछाँट गर्दै वनमारा र रुख छोप्ने लहरा हटाउने गर्दथे। डढेलो लाग्न र चोरी निकासीमा पूर्ण नियन्त्रण गरेका थिए। जब वैज्ञानिक वनको अवधारणा हट्यो त्यसपछि हुर्किएका सालका बिरुवा अलपत्र बने। 

अहिले सालका बिरुवा हुर्किएको ठाउँमा वनमाराले ढाकेको छ । बिरुवालाई वन लहराले पुरै छोपेको छ। बिरुवा हुर्कन र बढ्न सकेको छैन।” डिभिजन वन कार्यालयका प्रमुख कुमार कर्णले वैज्ञानिक वनको अवधारणा खारेज भए पनि दिगो वन व्यवस्थापन २०७९ को मापदण्ड लगभग तयार भइसकेकोले चाँडै नै यसको कार्यविधि लागू हुने बताउनुभयो। उहाँका अनुसार यसै कार्यविधिबमोजिम हुर्किएका सालका बिरुवाको व्यवस्थापन हुनेछ।