• १३ साउन २०८१, आइतबार

दुधमा अनुदान पाएपछि कृषक उत्साहित

blog

दुघ उत्पादन गर्ने कृषकलाई नगद अनुदानको चेक हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख कृष्ण खांण, उपप्रमुख कविता तिवारीलगायत । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, साउन १३ गते । दुधमा अनुदान पाएपछि वालिङका कृषक उत्साहित भएका छन् । नगरपालिकाले उत्पादनमा आधारित रहेर दुधमा नगद अनुदान दिएपछि कृषक उत्साहित भएका हुन् । 

वालिङ –१३ का कृषक छविलाल गैह्रेले अनुदानले आफूमा उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै रकम भए पनि कृषकलाई काम गर्ने प्रेरणा मिलेको छ ।” ३३ वर्षीय गैह्रेले विगत १० वर्षदेखि गाई र भैँसी पाल्दै आउनुभएको छ । दैनिक ६० लिटर दुध बेच्ने गैह्रेले ४४ हजार २२५ नगद अनुदान पाउनु भएको छ । 

स्वदेशमा नै केही गर्न सकिन्छ भनेर काम गर्न लागेका आफूजस्ता युवालाई राज्यले सहयोग गरेर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । अनुदानमा आधारित रहेर पाउने पैसाले वास्तविक कृषकलाई फाइदा पुग्ने कृषक टीकाराम रेग्मीको बुझाइ छ । 

उहाँले भन्नुभयो, “काम गर्नेले नपाउने तर काम नगर्नेले अनुदान पाउने रोग अन्त्य गर्न उत्पादनमा आधारित अनुदानले सहयोग गरेको छ ।” पालिकाले गएको आर्थिक वर्षमा ४० जना कृषकलाई सात लाख १६ हजार ९०२ रुपियाँ अनुदान दिएको हो । उत्पादनमा आधारित रहेर यो नगद अनुदान दिइएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । 

गएको आर्थिक वर्षमा प्रतिलिटर १० का आधारमा अनुदान दिइएको उहाँको भनाइ छ । गएको आर्थिक वर्षमा उत्पादन भएको ८७ हजार २५४ लिटर दुधमा अनुदान दिइएको छ । पालिकाले जिल्ला भेटेरिनरी तथा पशु विज्ञ केन्द्रले दिने २ नगद अनुदानमा नदोहोरिने गरी अनुदान प्रदान गरेको जनाएको छ । 

नगद अनुदान प्राप्त गर्ने कृषकलाई चेक हस्तान्तरण गर्दै नगर प्रमुख खाँणले उत्पादन बढाउन पालिकाले विभिन्न काम गर्दैआएको बताउनुभयो । पहाडी पालिका भएकाले कृषि र पशुपालनमा आफूहरूको विशेष जोड रहेको उहाँको भनाइ छ । 

पालिकाले कृषिमैत्री काम गर्न सुरु गरेको भन्दै नगर उपप्रमुख कविता तिवारी गैह्रेले कृषकको कृषिप्रति चासो कम भएको बताउनुभयो । वालिङ नगरपालिकाले गाई पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपियाँसम्म अनुदान दिएको थियो । 

पालिकाले वालिङमा रहेको अकला नमुना साना कृषि सहकारी संस्थासँग सम्झौता गरेर दुग्ध सङ्कलन गर्दैआएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो । लागत कम हुने तर उत्पादन र आम्दानी धेरै हुने हुँदा पालिकाले व्यावसायिक गाई पालनतर्फ ध्यान दिएको उहाँको भनाइ छ । 

पालिकाले अनुदानमा दिएका गाइका लागि निरन्तर प्राविधिक सेवा प्रवाह गर्दैआएको पशु सेवा शाखाका डा. रोशन बस्यालले जानकारी दिनुभयो । पछिल्लो समय गाईपालन प्रतिकृषक सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाई–भैँसी पालेर औसतमा दिनको ५०० लिटर दुध उत्पादन गरी बजारमा बेच्ने नगरपालिका दीर्घकालीन योजना छ ।