निराजन परियार
चौमाला कैलाली, असार १२ गते । सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीवार धनगढीमा एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साक्षर प्रदेश घोषणा गर्नुभएको हो ।
प्रदेशको ९ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९५ प्रतिशत साक्षर भइसकेको तथ्यांकका आधारमा घोषणा गरिएको हो । सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी साक्षर प्रतिशत (९७.३१) बाजुरामा रहेको छ भने सबैभन्दा कम अछाममा (९५.५५) रहेको छ ।
साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णयानुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशकसमेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समिति सुदूरपश्चिमका सदस्य सचिव दुर्गादत्त विष्टले जानकारी दिनुभयो ।
साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । १२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसंख्याले साक्षरता कोर्स पूरा गरिसकेपछि पालिका साक्षर घोषण हुन्छ ।
घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले विश्व अहिले सूचना, प्रविधि र वैज्ञानिक युगमा प्रवेश गरिसकेकाले सोही अनुसारको शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको शैक्षिक स्थिति उजागर गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा साक्षरताको परिभाषा विद्यालयको शिक्षामा मात्र सीमित नहुने भएकाले सीप विकास र जीविकोपार्जनको लागि क्षमता विकासमा अबको साक्षरता अभियान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सीप विकासमा जोड दिनुपर्ने बताउनुभयो ।