काठमाडौँ, असार १२ गते । सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका ६ बस्ने धादिङ थाक्रे गाउँपालिका ५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् ।
फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोस्ट गरी प्रलोभनमा पारी विभिन्न बैङ्क खातामा नगद २३ लाख १५ हजार रूपियाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ माइतीघरबाट पक्राउ गरेको हो ।
साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपियाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।