धार्मिक दृष्टिकोणले यो पशुपतिको माहात्म्य निकै महत्वपूर्ण छ । पशुपतिनाथको दर्शन गर्यो भने धर्म, अर्थ, काम, मोक्ष जस्ता चार पुरुषार्थ प्राप्त हुन्छन् भने पौराणिक ग्रन्थमा उल्लेख छ ।
नेपाल विशाल तीर्थै तीर्थस्थल भएको पुण्यस्थल हो । प्राचीनकालदेखि नै विभिन्न महर्षिले साधना गरेको मुलुक हो यो । वेद, उपनिषद्, पुराण आदि हिन्दु धर्मग्रन्थ विद्यमान रहेको एउटा पवित्र देश हो नेपाल । यस पुण्यभूमिमा धार्मिक आस्था अन्तर्गत विभिन्न मठमन्दिरको स्थापना हुन गयो ।
यस सम्बन्धमा नेपालमा अवस्थित चार क्षेत्रका प्रसिद्ध तीर्थस्थलबारे जान्नु आवश्यक देखिन्छ । ती चार क्षेत्रमा पशुपतिनाथ क्षेत्र, वराह क्षेत्र, मिथिला क्षेत्र र मुक्ति क्षेत्र हुन् ।
पशुपति क्षेत्र
पशुपतिनाथ विराजमान भएको पशुपति क्षेत्र काठमाडौँको पूर्व दिशामा अवस्थित छ । आशुतोष भगवान् पशुपतिनाथको स्वरूप, महिमा र प्रभावबारे पौराणिक वाङ्मय शिवपुराण, लिङ्ग पुराण, स्कन्ध पुराण, नेपाल माहात्म्य आदिमा उल्लेख तथा विश्लेषण गरिएको छ ।
यस क्षेत्र वरपर समस्त जीवलाई सांसारिक बन्धनबाट मुक्ति दिने समर्थवान् देवादि देवा त्रिदेव महादेव पशुपतिनाथको ज्योतिर्लिङ्ग भएको मूल मन्दिर छ । गुह्येश्वरी जस्तो शक्तिपीठ र बागमती जस्तो पवित्र नदी रहेको छ । अन्य पवित्र स्थानमा श्लेष्मान्तक वन, गौरी, किराँतेश्वर महादेव, गोरखनाथ, मृगस्थली र वत्सलादेवी आदि स्थान रहेका छन् ।
धार्मिक दृष्टिकोणले यो पशुपतिको माहात्म्य निकै महत्वपूर्ण छ । पशुपतिनाथको दर्शन गर्यो भने धर्म, अर्थ, काम, मोक्ष जस्ता चार पुरुषार्थ प्राप्त हुन्छन् भने पौराणिक ग्रन्थमा उल्लेख छ । यस्तै पवित्र बागमती नदीमा स्नान गर्दा अन्य नदीमा स्नान गर्दाको १० गुणा पुण्य लाग्ने छ भन्ने जनश्रुति छ ।
वराह क्षेत्र
पौराणिक महत्व रहेको विश्व प्रसिद्ध वराह क्षेत्र नेपालको सुनसरी जिल्लामा रहेको छ । विष्णु भगवान्ले धारण गरेको श्री वराहस्वरूप सप्तकौशिकी कोका नदी सङ्गममा वराह क्षेत्रमा वराहको मूल मन्दिर छ । अन्य मन्दिरमा पञ्च भगवान् मन्दिर, श्री लक्ष्मी मन्दिर, इन्द्र वराह, श्री नागेश्वर मन्दिर, श्री गुरु वराह ह्यङ्ग्रिभ मन्दिर, श्री सूर्य वराह मन्दिर, श्री कौका वराह मन्दिर, श्री बद्री मुक्तेश्वर मन्दिर, श्री गायत्री आश्रम मन्दिर, श्री नरसिंह भैरव आदि दर्शनीय मन्दिर रहेका छन् । धरालाई धारण गर्ने भएका भगवान् वराहले स्वयं पृथ्वीलाई धारण गरेर जल पवित्र गरी पृथ्वीलाई शान्ति दिने गरेको जनश्रुति छ । वराह भगवान्ले पृथ्वीको उद्धार गरेका थिए । भागवत र वराह पुराणमा यस सम्बन्धमा विशद चर्चा गरिएको छ ।
यस्तै शङ्खधारा जल र कोका नदी जल सङ्गमनजिक पश्चिम उत्तरको उचाइ भागमा श्री विष्णुपद (पादुका) मन्दिर छ । भगवान् विष्णुका १० अवतारमध्ये एक अवतार वराह हो । अचेल विष्णु पादुका शङ्ख धरा सङ्गममा श्राद्ध, पिण्ड तर्पण र अन्य कर्मकाण्ड गर्न आउनेहरूको घुइँचो लाग्छ । यस स्थानमा भक्तजनले स्नान, दर्शन, पूजा, व्रत आदि गर्नाले पुण्य प्राप्त गर्दछन् ।
मिथिला क्षेत्र
मिथिला क्षेत्र जगत्जननी जानकीको जन्मस्थल जनकपुर नेपालको सुप्रतिष्ठित स्थान हो । मिथिला क्षेत्र ऐतिहासिक र धार्मिक स्थलका रूपमा संसारमै प्रसिद्ध छ । त्रेतायुगमा जगत्जननी सीताको विवाह रामसित हुन गई वैवाहिक सम्बन्ध जोडेको स्थान हो यो । विश्व प्रसिद्ध राजर्षिले शासन गरेको जनकपुरमा प्रकाण्ड विद्वान्हरू याज्ञवल्क्य, विदुषी गार्गी, अष्टावक्र आदि महर्षिहरूले आत्मज्ञान प्रकाश पारेको पवित्र क्षेत्र पनि हो यो ।
विष्णु पुराणमा यस स्थानमा अनेकौँ तीर्थ, कुवा, नदी रहेको चर्चा गरिएको पाइन्छ । मिथिला क्षेत्रमा गङ्गा सागर, धनुष सागर र जनक सरोवरको महिमा महìवपूर्ण छ । यहाँका अनेक मन्दिरमा जानकी मन्दिर विश्व प्रसिद्ध छ । यसलाई हिन्दु जगत्को प्रसिद्ध नौलखा मन्दिर पनि भन्ने गरिएको छ । यो मन्दिर भारतको उत्तर–प्रदेशको टिकमगढकी महारानी वृषभानुकुमारीले नौ लाख खर्च गरेर बनाएको भनिन्छ । यो जनकपुरको प्रमुख आकर्षण केन्द्रका रूपमा रहेको छ ।
यस मन्दिरमा राम, लक्ष्मण, भरत, शत्रुघ्न र सीताको प्रतिमा रहेको छ । वसिष्ठ, शतानन्द र सुनयनाका प्रतिमा पनि यहाँ स्थापना गरिएका छन् । यस्तै राममन्दिर पनि स्थापना गरिएको छ । जहाँ दक्षिणतिर एउटा सुन्दर विवाहमण्डप स्थापित छ ।
मिथिला क्षेत्रमा अर्गलसर, महाराजसर, अग्निकुण्ड, रत्नसागर, विहारकुण्ड, विद्याकूप, ज्ञानकूप, रुक्मिणिसागर, पुरन्दर सागर, कुण्डवतीसागर, कृष्णहरसर, सनकादिसर, मण्डनसर, केदारसर, जनकसर, चित्रधरसर, मध्यमासर, दुर्गासर, गोपालसर, जानकीसर, कष्टहारीसर, पादप्रक्षालनसर, सुधासर, वरुणसर, अमृतकुण्ड, धात्रीसर, मुरलीसर, गौतमसर, वशिष्ठसर, रामसागर र पूर्णव्रतसर रहेका छन् ।
मुक्ति क्षेत्र
गण्डकी माहात्म्य र पद्म पुराण, स्कन्ध पुराणमा मुक्ति क्षेत्रको बयान गरिएको छ । जहाँसम्म गण्डकी नदी बगेको छ त्यहाँसम्मको स्थल मुक्ति क्षेत्र मानिएको छ । वराह पुराण अनुसार मुक्ति क्षेत्र अन्तर्गत रुरुक्षेत्र (रिडी), देवघाट, त्रिवेणीधाम, भागीरथीगङ्गा र नारायणी गङ्गाको सङ्गम हरिहर क्षेत्रसम्म मुक्ति क्षेत्र मानिएको छ ।
भनिन्छ अश्वमेघका लागि छाडिएको घोडा यस क्षेत्रमा आइपुग्दा भगवान् राम स्वयम् यस स्थानमा आएका थिए । यसलाई वैष्णव क्षेत्र पनि भन्ने गरिएको छ । यहाँ विष्णु भगवान् शालिग्रामका रूपमा उत्पत्ति भएको मानिन्छ । यस क्षेत्रलाई शालिग्राम क्षेत्र पनि भन्ने गरिएको छ ।
यहाँ विष्णुको प्राचीन मूर्ति रहेको छ । यसलाई हिन्दुहरूले विष्णुका रूपमा पूजा गर्छन् बौद्धहरू अवलोकितेश्वरका रूपमा पूजा गर्छन् । यहाँ सदाबहार बगिरहने सहस्रकुण्डका १०८ धारा रहेका छन् । जहाँ स्नान गरेमा निरोगी भइने धार्मिक मान्यता रहेको छ । नजिकै सधैँ बलिरहने अग्निकुण्ड पनि छ ।
यस्तै यस क्षेत्रका प्रमुख तीर्थस्थलहरूमा मुक्तिनाथ, दामोदर कुण्ड, गलेश्वर, जडभरतको आश्रम, गुप्तेश्वरहरू, भृगु गुफा, रामघाट, केलादीघाट आदि रहेका छन् । मुस्ताङको कागबेनीमा श्राद्ध गरेमा मृतात्मालाई शान्ति मिल्ने मान्यता छ । फागुपूर्णिमामा थकाली समुदायले यहाँ तोरनह्ल पर्व मनाउँछन् । यस्तै जनैपूर्णिमाको दिनदेखि यहाँका बासिन्दा तिब्बेतेली यारटुङ्ग पर्व मनाउने गर्छन् । यस पर्वमा घोडा दौडका साथै धनुष खेल खेलिन्छ ।
–युवामञ्च