• १३ साउन २०८१, आइतबार

असुरक्षित रूपमा राखिएका भाडामा हैजाको जीवाणु भेटियो

blog

प्रकाशविक्रम शाह

धनगढी, साउन १३ गते । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलका घरमा असुरक्षित तरिकाले भाडामा पानी राख्दा दुई जनालाई हैजा देखिएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा सो तथ्य फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले बताउनुभयो ।   

स्थानीयले प्रयोग गर्ने र पानी भण्डारण गर्ने भाडामा हैजाका जीवाणु देखिएका हुन । स्वास्थ्य कार्यालयले ती घरको खानेपानीका धारा, भाडामा राखिएका पानीको नमुना परीक्षण गरेको थियो । 

प्रमुख श्रेष्ठले पशुपति टोलका ५० घरमा पानी सफा राख्ने पियुस बाँडिएको र उनीहरूमा हैजा भए÷नभएको परीक्षण गर्न दिसाको नमुना सङ्कलन गरिएको बताउनुभयो । 

नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र साहले आफूहरूले पानी शुद्ध तथा खानयोग्य बनाएर खानेपानी वितरण गरिरहेको बताउनुभयो ।

गतसाता पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको थियो । उनीहरू दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । ती मध्ये एक जना उपचारपछि घर फर्किएका छन् । 

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो । पशुपति टोलका करिब ३० जनाको दिसा सङ्कलन गरेर हैजा हो/होइन भन्ने परीक्षण भइरहेको छ ।

स्वास्थ्य कार्यालयले वर्षातको समयमा पानी विभिन्न तरिकाले दूषित हुने हुँदा सतर्कता अपनाउनु सर्वसाधारणलाई आग्रह गरेको छ ।