• १३ साउन २०८१, आइतबार

सचिवको बिफ्रिङ, मङ्गलबार प्रधानमन्त्रीले निर्देशन दिने

blog

सचिवको ब्रिफिङ सुन्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन १३ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिनुभएको छ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिनुभएको हो। 

सचिवको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरूले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नुभयो । भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो । अब भोलिको एक दिन हामीले सोच्ने समय लिएका छौँ र मंगलबार फेरि छलफल गरेर काम अगाडि बढाउने विषयमा निर्णय लिन्छौँ ।’’


जनतामा छाएको निराशा चिर्ने उद्देश्यका साथ काम गर्न प्रधानमन्त्रीले सबै मन्त्रालयको कामको जानकारी लिने काम गर्नुभएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिनुभयो। 

मन्त्रालयले आ–आफ्नो समस्यासहितको भावी रणनीति सहितको प्रस्तुति गर्ने काम सकिएको र साउन १५ गते मंगलबार  प्रधानमन्त्रीले आवश्यक निर्देशन दिनुहुने मन्त्री यादवको भनाइ छ। 

बैठकमा विकासे मन्त्रालयका सचिवले ठेकदारको भुक्तानीको समस्यालाई जोड दिएर उठान गरेका थिए।  केहीले संविधानसँग बाझिएका कानुन तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा  व्यक्त गरेका छन्। मन्त्री यादवले सचिवले दिएको बिफ्रिङलाई अध्ययन गरेर प्रधानमन्त्रीले मंगलबार निर्देशन दिने र सोही अनुसार चालु आर्थिक वर्षको काम अघि बढाउने सरकारको योजना रहेको बताउनुभयो। 

प्रधानमन्त्री ओलीले बोलाउनुभएको सो बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै सुरक्षा अङ्गका प्रमुखको पनि उपस्थिति रहेको थियो।