• १२ असोज २०८१, शनिबार

मनाङमा लैङ्गिक हिंसाको उजुरी शून्य

blog

बेलिना थापा

लमजुङ, मङ्सिर १८ गते । हिमाली जिल्ला मनाङमा लैङ्गिक हिंसाका उजुरी शून्य रहेको छ। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एउटा पनि उजुरी नपरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेको छैन। गत आर्थिक वर्षमा भने तीन वटा मुद्दा दर्ता भएको थियो। 

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा जिल्ला प्रशासन कार्यालय मनाङमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा आचार्यले उक्त जानकारी गराउनुभएको हो। लैङ्गिक हिंसामा उजुरी कम पर्ने जिल्लाका रूपमा मनाङलाई लिन सकिन्छ। भौगोलिक बनावट, सामाजिक परम्परा, संस्कारका कारण पनि हिंसाका घटना बाहिर आउने गर्दैनन्। कतिपय गाउँमा घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता रहेकाले पनि घटना बाहिर नआएको प्रजिअ आचार्यले बताउनुभयो। 

सुरुमा गाउँमा मिलाउने र मिलाउन नसकेमा मात्र बाहिर आउने गर्दा प्रहरीमा उजुरी कम परेको प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताउनुभयो। प्रहरीमा आएका व्यक्तिलाई पुनः समाजमा जीवनयापनमा समेत समस्या हुने गरेकाले चालू आर्थिक वर्षमा मुद्दा शून्य छ। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले लैङ्गिक हिंसाको परिचय, प्रकार, नेपालको अवस्था, जिल्लाको अवस्था, कानुनी व्यवस्था, निवारणका लागि भएको प्रयास, हिंसाका कारण, कारक तत्त्व, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात, उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो। 

सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढुङ्गानाले लैङ्गिक हिंसा र घरेलु हिंसाबारे जानकारी गराउनुभएको थियो।