• १२ असोज २०८१, शनिबार

राज्यबाट उचित सहयोग नपाएको गुनासो

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर १८ गते  । अपाङ्गता भएका नागरिकले राज्यबाट उचित सहयोग प्राप्त नभएको गुनासो गरेका छन्। ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका नागरिकले यस्तो बताएका हुन्।

काम गर्न नसक्ने अवस्थाका नागरिकको जीवन दयनीय रूपमा बितिरहेको बताउँदै राज्यले उचित सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ। सिमकोट गाउँपालिका–५ का जनक परियारले अपाङ्गता भएकै कारण आफ्नो जीवन दयनीय रूपमा बितिरहेको बताउँदै आफूजस्ता नागरिकलाई राज्यले हेर्न नसकेको गुनासो गर्नुभयो।  

सबैतिर अपाङ्गता दिवस मनाइरहेका बेला आफूजस्तै दुर्गमका नागरिकले दैनिक जीवन निर्वाहका समस्यासँग जुधिरहेको उहाँको भनाइ छ।  

अपाङ्गता भएका व्यक्तिको आधारभूत आवश्यकता पूरा गर्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको आग्रह छ। जिल्लामा सात सयभन्दा बढी यस्ता व्यक्ति बताउँदै उहाँले सामाजिक सुरक्षा भत्ताभन्दा अन्य अपाङ्गतालक्षित कार्यक्रम आउन नसकेको गुनासो गर्नुभयो। 

दिवसका अवसरमा ६० जना अपाङ्गता भएका विद्यार्थी तथा अन्य नागरिकलाई सहयोग गरिएको छ। अपाङ्गता भएका व्यक्तिलाई साबुन, कम्बल र नगद प्रदान गरेर सहयोग गरिएको गाउँपालिका महिला शाखाका प्रमुख ममता महतले जानकारी दिनुभयो।