गाउँपालिकाले बनायो बहुउद्देश्यीय सडक
रुपन्देहीको मर्चवार क्षेत्रअन्तर्गत कोटहीमाई गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ । प्रदेश र स्थानीय सरकारको सहकार्यमा २५ लाखको लागतमा निर्माण सम्पन्न नालासहितको चार किलोमिटर सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।
गुल्मीका स्थानीय तहको बजेट छ अर्बभन्दा बढी
गुल्मीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले सोमबार एकै दिन छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
जनताको स्वास्थ्य डुडुवा गाउँपालिकाको प्राथमिकतामा
बाँकेको डुडुवा गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम र बजेटमा घर-घर स्वास्थ्य कार्यक्रमलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ ।
हावाहुरी पीडितलाई सय थान जस्तापाता वितरण
बाँकेको राप्तीसोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले आफ्नो वडाभित्र हावाहुरीबाट पीडित बनेका चार घरपरिवारलाई आफ्नो सेवासुविधाबाट सय थान टिन (जस्तापाता) उपलब्ध गराउनुभएको छ ।
कोहलपुर नगरपालिकाको बजेट एक अर्ब पाँच करोड
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब पाँच करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
नेकपा एस गुल्मीद्वारा महाधिवेशन प्रतिनिधि छनोट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । यहि असार १६ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुन लागेको १० औं महाधिवेशनका लागि सात जना प्रतिनिधि सर्वसम्मत छनोट गरिएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो ।
सीमान्तकृत समुदायलाई बाँसको टनेलसहित बिउ वितरण
गुल्मीमा सीमान्तकृत समुदायलाई आय आर्जनमा जोड्नका लागि बाँसको टनेल निर्माणसँगै तरकारीको बिउँ वितरण गरिएको छ ।
गलत सूचनाले वृद्धवृद्धालाई सास्ती
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा बढेको भिडमा ज्येष्ठ नागरिकले बेहोर्नु परेको सास्ती देखिन्छ । राष्ट्रिय परिचयपत्र नभए सामाजिक सुरक्षा भत्ता नपाउने भएकाले राष्ट्रिय परिचयपत्रका लागि दैनिक दुई सयभन्दा बढी मानिस प्रशासनमा आउने गरेका छन । ज्येष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, एकल महिला परिचयपत्रका लागि प्रशासनमा आउने गरेका छन । परिचयपत्र नभए चालु आवकै भत्ता नपाउने गलत सूचनाले प्रशासनमा परिचयपत्रका लागि मानिसको भिड लागेको जिल्ला प्रशासनका नासु मनोज आचार्यले बताउनुभयो ।
गुल्मीका सबै स्थानीय तहको बजेट
गुल्मीका १२ वटै स्थानीय तहले असार १० गते सोमबार बजेट प्रस्तुत गरेका छन । आर्थिक वर्ष २०८१/८२ का लागि दुई नगर र १० गाउँपालिकाले अनुमानित बजेट सार्वजनिक गरेका छन । जिल्लाको रेसुङगा नगरपालिकाले ७८ करोड ३५ लाख पाँच हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । जस अन्तर्गत चालुतर्फ ५६ करोड २० लाख ७८ हजार र पुँजीगततर्फ २२ करोड १४ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । नगरले सडक, पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन र पर्यटनलाई मुख्य प्राथमिकता दिएर बजेट ल्याएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
छत्रकोटको ५५ करोड बढीको बजेट
गुल्मीको छत्रकोट गाउँपालिकाले ५५ करोड बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१८२ को लागि छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
चट्याङबाट दश बर्षीय बालकको मृत्यु
दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । सोमवार बेलुका करिब ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुबास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
लमहीको बजेट ८४ करोड ५१ लाख रुपियाँ
दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
तुलसीपुरको बजेट दुई अर्ब सात करोड
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ ।
गुल्मीदरबार गाउँपालिकाको बजेट झण्डै ४६ करोड
गुल्मीदबार गाउँ पालिकाले झण्डै ४६ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ९३ लाख आठ हजार बजेट गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेगाले प्रस्तुत गर्नु भएको हो ।
सिद्धार्थनगरको विकासमा पूर्वाधार विकास मुख्य प्राथमिकतामा
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । नगर सभाको १६ औँ अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजनिक गर्नुभएको हो ।
तुलसीपुरको नीति ‘जहाँ वर पिपल त्यहाँ शीतल’
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा पर्यावरणलाई विशेष जोड दिएको छ ।
नेपालगन्ज उपमहानगरको बजेट घट्दो क्रममा
पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको बजेट गत तीन वर्षदेखि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो ।
एक हजार बढी सवारीसाधन कारबाहीमा
दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरीले बाँकेमा गत एक महिनामा मात्रै एक हजार ७१३ सवारी साधनलाई कारबाही गरेको छ ।
गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड
जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड लागेको छ ।
प्युठान जिप दुर्घटना : घाइते एक जनाको मृत्यु
नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार राती भएको जिप दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
बर्दियामा चट्याङ लागेर मृत्यु
बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।
मर्चवारमा बहुउद्देशीय सडक निर्माण
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो ।
बजेटमा साना दलका गुनासैगुनासा
लुम्बिनी प्रदेशमा सत्तापक्षले आफ्नो अनुकूलको बजेट बनाएको भन्दै शुक्रबार अवरुद्ध गरिएको प्रदेश सभाको बैठक आइतबार सञ्चालन भयो । जनतामैत्री र सङ्घीयताविरोधी बजेट आएको भन्दै शुक्रबारको प्रदेश सभा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यसमेत रहेको संसदीय समिति बनाउने सहमतिपछि आइतबार सदन चलेको हो । सदनमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशमा रहेका मुख्य दलका नेताहरूबिच सहमति भएको जानकारी गराउनुभयो ।
छ करोडको अभावमा ५० हजार मानिस जोखिममा
छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् । राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो । त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपियाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो ।