• १४ असार २०८१, शुक्रबार

सीमान्तकृत समुदायलाई बाँसको टनेलसहित बिउ वितरण

blog

इश्माको बुल्ममा रहेका ४१ जना कुमाल समुदायका लागि प्लाष्टिक वितरण गर्दै ।

तिलाचन पाण्डे

तम्घास, असार ११ गते । गुल्मीमा सीमान्तकृत समुदायलाई आय आर्जनमा जोड्नका लागि बाँसको टनेल निर्माणसँगै तरकारीको बिउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले इश्मा गाउँपालिका ६ अमरपुरको बुल्म रहेका ४१ जना कुमाल समुदायका लागि बाँसबाट निर्मित टनेल निर्माण गरी प्रदान गरेको कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । 

लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रममार्फत आय आर्जन र पोषण सुरक्षाका लागि बाँसबाट निर्मित टनेल निर्माणसँगै प्लाष्टिक टनेल दिएको बताउनुभयो । यस्तै मुसिकोट नगरपालिका ३ को चुँदरी गाउँका २५ जना दलित समुदायका लागि पनि बाँसको टनेल निर्माण गरी प्लाष्टिक र ग्रिन नेट प्रदान गरिएको छ । सत्यवती गाउँपालिकाको माझी बस्तीमा रहेका २५ जनालाई बिउबिजन र मल्चिङ प्रदान गरिएको भण्डारीले बताउनुभयो । माझी बस्तीमा रहेका समुदायले अहिले मल्चिङ प्रविधिबाट खरबुजा उत्पादन गरेको उहाँको भनाइ छ । कुमाल समुदाय र दलित समुदायका लागि बिउ बिजन वितरण गर्ने कार्य केही दिनमै गरिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रममार्फत करिब १० लाख रुपियाँ खर्च हुने भण्डारीले बताउनुभयो । लक्षित समुदायलाई आय आर्जनमा जोड्नका लागि कार्यालयले यस्ता कार्य गरेको उहाँको भनाइ छ । सिधै अनुदान प्रदान गर्दा अनुत्पादक हुने भएकाले बाँसको प्लाष्टिक टनेल निर्माण गर्दा प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । टनेलमा ताजा तरकारी फलाउन सहजै रुपमा सकिने भएकाले हरिया सागपातले पोषण सुरक्षामा समेत टेवा पुग्ने भण्डारीको दाबी छ । 

बाँसको टनेलसहित प्लाष्टिक पाएपछि बुल्मकी उज्याला कुमालले आफूले ताजा तरकारी उत्पादन गर्ने बताउनुभयो । यसैबाट उत्पादन भएको ताजा तरकारी बेचेर घर खर्च चलाउनका लागि सक्षम हुने उहाँको भनाइ छ ।