• १२ मंसिर २०८१, बुधबार

सिद्धार्थनगरको विकासमा पूर्वाधार विकास मुख्य प्राथमिकतामा

blog

लक्ष्मण पौडेल

भैरहवा, असार १० गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । नगर सभाको १६ औँ अधिवेशनमा नगर प्रमुख इश्तियाक अहमद खाँले नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले बजेट सार्वजनिक गर्नुभएको हो । 

नगरपालिकाले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ । पालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब चार करोड २५ लाख ५४ हजार बराबरको बजेट ल्याएको हो । 

नगरका हाल कार्यान्वयनका क्रममा रहेका क्रमागत तथा बहुवर्षीय योजनाहरू सम्पन्न गर्नका लागि कुल चार करोड ५० लाख बजेट विनियोजन गरिएको छ । नगरभित्र स्मार्ट स्ट्रिट लाइट जडान, वडास्तरीय योजना छनोटका लागि १० करोड ६८ लाख, ल्यण्डफिल्ड साइट पूर्वाधार निर्माणमा १५ लाख विनियोजन गरिएको छ । नगरपालिकाको वडा नं. २ मा रहेको बहिरा बाल माविको भौतिक पूर्वाधार निर्माणका लागि सङ्घीय सरकार विशेष अनुदानबाट एक करोड ६० लाख विनियोजन गरेको छ ।

नगरपालिकाको प्रशासनिक भवनको भौतिक पूर्वाधार निर्माणका लागि तीन करोड विनियोजन गरिएको छ । त्यसैगरी वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कान्जि हाउस निर्माण, शवदाह स्थल निर्माण र पार्क निर्माणका लागि दुई करोड १० लाख विनियोजन गरिएको छ ।

वडा स्तरीय योजनाको लागि रु.१० करोड ६८ लाख ५० हजार विनियोजन गरिएको छ । सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि आन्तरिक स्रोतबाट रु एक करोड २६ लाख विनियोजन गरिएको छ ।