• १३ असोज २०८१, आइतबार

छत्रकोटको ५५ करोड बढीको बजेट

blog

रमेश विश्वकर्मा

गुल्मी, असार १० गते । गुल्मीको छत्रकोट गाउँपालिकाले ५५ करोड बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१८२ को लागि छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।

असार ३ गतेदेखि सुरु भएको छत्रकोट गाउँपालिकाको गाउँसभाको १८ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि अनुमानित आय र व्ययको विवरण प्रस्तुत गर्नुहुँदै संघीय सरकारबाट प्राप्त हुने ४९ करोड ८६ लाख ९० हजार ९४६ रुपियाँ, लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने दुई करोड ७८ लाख ५९ हजार ८१० रुपियाँ, आन्तरिक आम्दानी ७० लाख र चालु आर्थिक वर्षको बचत हुने अनुमानित रकम दुई करोड १३ लाख ७ हजार २१७ रुपियाँको बजेट सार्वजनिक गर्नुभयो ।

प्रस्तुत बजेटबाट सबैभन्दा धेरै पूर्वाधारतर्फ ६ करोड ७८ लाख ५५ हजार रुपियाँ विनियोजन भएको छ । शिक्षातर्फ एक करोड ८५ लाख तीन हजार रुपियाँ, स्वास्थ्यतर्फ एक करोड ७० लाख ५६ हजार ८६८ रुपियाँ, कृषि विकातर्फ एक करोड १० लाख रुपियाँ, पशु विकासतर्फ २३ लाख ५० हजार रुपियाँ, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी तथा वित्तिय सेवातर्फ ८१ लाख रुपियाँ, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १९ लाख रुपियाँ, सुशासन तथा संस्थागत विकास र प्रशासनिक खर्चतर्फ पाँच करोड ८२ लाख ४२ हजार १५५ रुपियाँ बजेट विनियोजन भएको छ । 

विभिन्न कार्यक्रमका शिर्षकहरुमा एक करोड ७४ लाख ९० हजार रुपियाँ विनियोजन भएको छ । पालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि र पशुपालन, स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिएको छ । गाउँपालिकाले आगामी बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आर्थिक विकास गर्नु मुख्य उद्देश्य रहेको जनाएको छ । 

बजेटमा लगानीमैत्री वातावरणको सिर्जना गरी उद्योग र व्यवसायको प्रवर्धन मार्फत रोजगारी सिर्जना गर्नु, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक विकास गर्नु, गुणस्तरीय र दीगो पूर्वाधार विकास गर्नु, जनमैत्री सेवा प्रवाह र सुशासनयुक्त गाउँपालिका निर्माण गर्नु लगायतका उद्देश्य राखिएको छ ।