तिलाचन पाण्डे
तम्घास, असार १० गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड लागेको छ । पछिल्लो समयमा सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले २८ जिल्लामा गुल्मी नपरे पनि परिचयपत्र बनाउनेको भीड लागेको हो ।
वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने सुनेकाले परिचय पत्र बनाउनका लागि प्रशासनमा आएको मुसिकोट नगरपालिका १ का पौदीअमराईका ७४ वर्षीय मनु गिरीले बताउनुभयो । बुढेसकालको सहारा वृद्धभत्ता रोकिने हो कि भन्ने डरले गाउँबाट सार्वजनिक सवारीमा दुःख सुख गरी प्रशासनमा आएको उहाँको भनाइ छ । परिचयपत्र बनेपछि आफू ढुक्क भएको उहाँको प्रतिक्रिया छ ।
साउनदेखी अनिवार्य रुपमा वृद्धा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक हुने भन्ने रेडियोमा सुनेका कारण आफू परिचयपत्र बनाउन आएको गुल्मी दरबार गाउँपालिकाकी ७२ वर्षीय नविदेवी रोकायले बताउनुभयो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि सेवाग्राहीहरु कार्यालय नखुल्दै लाइनमा बस्ने गरेका छन् ।
गुल्मीमा अहिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नरहेको सूचना जिल्लाका सञ्चार माध्यमहरुबाट प्रसारण भएको भए पनि परिचयपत्र बनाउनका लागि ज्येष्ठ नागरिकको भीड लागेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
परिचयपत्र बनाउन प्रशासनमा आएपछि उहाँहरुलाई पहिलो प्राथमिकता दिएर आवेदन सङ्कलन गर्ने गरेको उहाँको भनाइ छ । केही दिन पहिले प्रशासनमा ८४ वर्षसम्मका ज्येष्ठ नागरिकह परिचयपत्र बनाउनका लागि आएको गैरेले बताउनुभयो ।
कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि परिचयपत्र वितरण गर्ने स्टेशनबाट पनि आवेदन लिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा ३५ हजार राष्ट्रिय परिचयपत्र बनेर आएको बताउँदै शर्माले परिचयपत्र वितरण गर्ने स्टेशनबाट पनि आवेदन सङ्कलन गर्ने व्यवस्था गरिएको बताउनुभयो । कर्मचारी अभावकाबीच पनि साँझ अबेरसम्म गरेर सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको शर्माको भनाइ छ ।
गत एक हप्तामा प्रशासनबाट ७२७ जनाको परिचयपत्रका लागि आवेदन सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा करिब दुई लाखले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।