• १३ असोज २०८१, आइतबार

प्युठानका आठ पालिकाले ल्याए बजेट, एउटाको स्थगित

blog

सलिम मियाँ
बिजुवार, असार ११ गते ।
प्युठानका ९ वटा स्थानीय तहमध्ये ८ वटा पालिकाले सोमबारसम्म आगामी वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् भने एक वटा पालिकाको भने गाउँसभा स्थगित भएको छ । जिल्लाको झिमरुक गाउपालिकाले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट भने सार्वजनिक गरेन ।

गाउँसभाका केही सदस्यले नीति तथा कार्यक्रममै असन्तुष्टि व्यक्त गरेपछि बजेट प्रस्तुत हुन नसकेको हो । गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले बिबादका बिच अघि बढ्नुभन्दा मिलेर अगाडि बढ्ने गरी असार २८ गते बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।

असार १० गतेको समयभित्र बजेट सार्वजनिक गरेका आठ वटा पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, लक्षित वर्गको उत्थानलाई मुख्य प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाइएको छ ।

प्युठानमा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह छन् । तीमध्ये  स्वर्गद्वारी नगरपालिकाले ८३ करोड ७ लाख ३३ हजार रुपियाँको बजेट बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख मीनराज रानाले १५ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ ६९ प्रतिशत र पुँजीगततर्फ ३१ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

नौबहिनी गाउँपालिकाले सोमबार ६६ करोड २३ लाख ३६ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

ऐरावती गाउँपालिकाले ५३ करोड ५ लाख १८ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ भने गौमुखी गाउँपालिकाले ४६ करोड २० लाख ९७ हजार रुपियाँको बजेट ल्याएको छ ।

त्यस्तै, माण्डवी गाउँपालिकाले ४२ करोड ४५ लाख ६ हजार रुपियाँ, मल्लरानीले ४१ करोड १९ लाख ९८ हजार ६ सय नौ रुपियाँ र सरुमारानी गाउँपालिकाले ४० करोड, ३६ लाख ४४ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

प्युठान नगरपालिकाले सोमबार मुल बजेटको खाका मात्र नगरसभामा प्रस्ताव गरेको जनाएको छ ।

नगरपालिकाका उपप्रमुख देवेन्द्र ब्रम्हाले योजना, शाखा र वडा अनुसारको  बजेटमाथि कार्यपालिकामा छलफल सुरु भएको र असार २८ गतेको नगरसभाबाट ९० करोड बराबरको वजेट ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।  ‘मोटामोटी कुन क्षेत्रमा कति बजेट विनियोजन भयो भनेर सभामा प्रस्ताव भएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘कार्यपालिकामा छलफल सुरु भएको छ, असार २८ गते बजेट आउँछ ।’’