• १४ असार २०८१, शुक्रबार

छ करोडको अभावमा ५० हजार मानिस जोखिममा

blog

राप्ती नदीको कटान ।

सिराज खान 

नेपालगन्ज, असार १० गते । छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा बढी गाउँका बासिन्दा बाढी र डुबानको उच्च जोखिमसँगै त्रासमा रहेका हुन् । 

राप्ती सोनारी गाउँपालिका–७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध एक वर्षअघि बाढीले बगाएको थियो । त्यसको पुनर्निर्माणका लागि माग गरिएको छ करोड रुपियाँको बजेट नपाई पुनर्निर्माण नहुँदा त्रास बढेको हो । 

गत वर्षको बाढीले बगाएको तटबन्ध यस वर्ष वर्षा सुरु हुने बेलासम्म पनि पुनर्निर्माण नहुँदा सो क्षेत्र डुबान र बाढीको चपेटामा पर्ने निश्चित जस्तै देखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रमा पानी परिरहेकाले राप्तीमा पानीको सतह बढ्न थालेको छ । 

अध्यक्ष शाहले तत्काल तटबन्ध निर्माण नगरिए राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, गेदुवा, गङ्गापुर, सोनवर्षा खुदरबेटवा र कडुवालगायतका गाउँमा राप्ती नदी पस्ने चिन्ता बढ्दै गएको छ । 

भत्किएको २८० मिटर लामो तटबन्ध तत्काल पुनर्निर्माण नगरिने हो भने सो वरिपरिका सात गाउँमा ठुलो जनधनको क्षति हुने निश्चित रहेको जनाउँदै स्थानीयले जोगाउन सरकारसँग हारगुहार गरेका छन् । 

स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डेले गत वर्ष तटबन्ध भत्किएलगत्तैबाट हालसम्म जिल्ला प्रशासन, स्थानीय पालिका र ‘जनताको तटबन्ध’ कार्यक्रमलाई पटक पटक पुनर्निर्माणका लागि आग्रह गर्दा पनि कुनै सुनवाइ नभएको गुनासो गर्नुभयो । 

वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूले पटक पटक लिखित रूपमै तटबन्ध निर्माणका लागि वडाबाट सम्बन्धित निकायमा आग्रह गरिए पनि बजेट नभएको भन्दै कुनै सुनुवाइ नगरिएको बताउनुभयो । 

यसबारे जनताको तटबन्ध कार्यक्रम लमहीका सब डिभिजनल इन्जिनियर राजन श्रेष्ठले गत मङ्सिरदेखि नै बजेटका लागि केन्द्रमा पटक पटक लेखेर पठाइए पनि बजेट नपाउँदा काम गर्न नसकिएको बताउनुभयो । उहाँले २८० मिटर तटबन्ध निर्माणका लागि छ करोड रुपियाँको लागत अनुमान पठाइए पनि बजेट नआउँदा काम नभएको बताउनुभयो तर अहिले बाढीको समय एकदमै नजिकिएकाले कार्यालयले आफ्नो सीमित बजेटबाट रोकथामको प्रयास गरिरहेको उहाँले बताउनुभयो । 

सरकारले छ करोड रुपियाँ जोगाउन ५० हजारभन्दा बढीको ज्यान जोखिममा पारेको दुखेसो गर्दै देउपुरा गाउँका स्थानीय रामअचल यादवले यस क्षेत्रका जनतामाथि दया गर्न सरकारसँग माग गर्नुभयो । बाढी र डुबानबाट जोगाउन स्थानीयले हारगुहार गरेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित सुरक्षा समितिको टोलीले भत्किएको तटबन्धको स्थलगत निरीक्षण गरेको छ ।