• १३ असोज २०८१, आइतबार

गाउँपालिकाले बनायो बहुउद्देश्यीय सडक

blog

निर्माण गरिएको सडकको अवलोकन गर्दै गाउँपालिकाका जनप्रतिनिधि । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, असार ११ गते ।
 रुपन्देहीको मर्चवार क्षेत्रअन्तर्गत कोटहीमाई गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ । प्रदेश र स्थानीय सरकारको सहकार्यमा २५ लाखको लागतमा निर्माण सम्पन्न नालासहितको चार किलोमिटर सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।

नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा निकै उत्साहित छन् । ‘‘यो सडक निर्माण भएपछि हामीलाई अस्पताल, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ’’,  कोटहीमाई–४ का रामवचन यादवले भन्नुभयो, ‘‘अब हिउँद र वर्षामा पनि यात्रा गर्न समस्या हुँदैन । हाम्रा खेत डुबानमा पर्ने छैनन् ।’’

स्थानीय जगदीश वर्माले भन्नुभयो, ‘‘बहुउपयोगी सडक निर्माणले यातायात, सिँचाइ र जल निकासको उचित प्रबन्ध गरेको छ । यातायात र सिँचाइ मात्र होइन, कोटहीमाई गाउँपालिका वडा नम्बर ३, ४, ५, र ७ का करिब एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई कटफोरवा नालाको सफाइले समाधान गरेको छ ।’’ वर्माले रोपाइँ, सिँचाइ र बाली ढुवानी लगायत कार्यका लागि यो सडक उपयोगी रहेको र वर्षायाममा डुबानको समस्या हटेको बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीका अनुसार सडकलाई बहुउपयोगी बनाउन पुरानो जीर्ण नालाको संरक्षणसँगै कृषि सडक निकालिएको छ । उहाँले आवश्यक भागमा कल्भर्ट निर्माण गरी पानीलाई निकास दिइएको बताउनुभयो । 

‘‘लुम्बिनी प्रदेश सरकारको समपूरक योजनाअन्तर्गत निर्माण सम्पन्न कृषि सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको छ’’, उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाले स्थानीयको विपद् मानिने कटफोरवा नालाको दुवै पेटीमा सडक विस्तार गरी अझ प्रभावकारी बनाउन र सडक छेउँछाउँमा हरियाली विस्तार, सोलार बत्ती जडान तथा नियमित मर्मतसम्भारको योजना बनाएर सडकको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।’’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले कोटहीमाई गाउँपालिकाका अधिकांश नागरिक कृषिमै निर्भर रहेकाले कृषि क्षेत्रमा प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘किसानको खेतसम्म कृषि यन्त्र र किसानले उत्पादन गरेको सामान बजारसम्म पुग्न सके मात्र कृषि क्षेत्रको विकास हुन्छ । सोही उद्देश्यले यो सडक र कुलोको निर्माण गरिएको छ ।’’

गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बहुउद्देश्यीय सडकको निर्माणले गाउँका बासिन्दाहरूको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको बताउनुभयो । ‘‘हामीले सो सडक निर्माणसँगै कृषि, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘गाउँको विकासका लागि सिँचाइ र यातायातको सुविधा महत्त्वपूर्ण छ र यो सडकले ग्रामीण इलाकाका नागरिकहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्नेमा विश्वस्त छौँ ।’’

सडकको मुख्य विशेषता यसको बहुउद्देश्यीय उपयोग हो । यो सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवासँग वडा नम्बर ४ का गाउँहरूलाई सीधा जोडेको छ । यसले परसहवा बजारसम्मको पहुँचलाई सहज बनाएको छ ।