निर्वाचन आचारसंहिताको प्रभाव छापाखानासम्म
काठमाडौं, वैशाख १ गते। स्थानीय तहको निर्वाचन आचारसंहिताको प्रभाव छापाखानासम्म परेको छ। झण्डा किन्नेको सङ्ख्या ह्वात्तै बढेको छ भने निर्वाचन आचारसंहितामा अपनाइएको कडा नीतिले छापाखानामा भने त्यसको प्रत्यक्ष असर परेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने गरी गत शुक्रबारदेखि लागू गरेको आचारसंहिताको असर छापाखानामा पनि परेकोे हो।स्थानीय तह निर्वाचन आउन २९ दिन बाँकी रहँदा बागबजारस्थित छापाखानामा चुनाव चिह्न अङ्कित सामग्री उत्पादन, बिक्री वितरण सोचेअनुसार नभएको व्यापारीले बताएका छन्। बागबजारस्थित एक छापाखाना सञ्चालक सुरज खड्गीले निर्वाचनका लागि झण्डा, टोपी र ब्याज मात्रै अडर आउने गरेको बताउनुहुन्छ। उहाँले झण्डाको साइज निर्वाचन आयोगले तोकेअनुसार बनाउने गरिएको जानकारी दिनुभयो।उहाँका अनुसार, अहिले हरेक पार्टीका प्रतिनिधिले १५ सयदेखि दुई हजारसम्म झण्डा लैजाने गरेका छन्। आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा ७५ ग्रामसम्मको कागजमा तीन सय इन्चसम्म आकारको एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ३ह३ फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिह्न र उम्मेदवारले ए–फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण वितरण गर्नसक्ने व्यवस्था गरेको छ।निर्वाचन आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न/गराउन नहुने व्यवस्था गरेको छ।उहाँले भन्नुभयो, ‘‘प्रिन्ट गरेर राख्ने हो। कोहीँ लिन आउनुभयो भने पाँच हजार थान पनि लानुहुन्छ। कहिले दुई–तीन सय थान पनि जान्छ। अडरबिना नै छपाइ गरेर राख्ने अवस्था छ।’’ यसैगरी, ३५ वर्षदेखि छापाखाना सञ्चालन गर्दै आउनुभएका सञ्चालक विजयकुमार कार्कीले विगतका निर्वाचनमा भन्दा अहिले निकै कम व्यापार हुने गरेको बताउनुहुन्छ।‘‘विगतका निर्वाचनमा चुनाव चिह्न ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला र ब्याजलगायतका सामग्री धेरै जान्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘तर, यो पटकको निर्वाचन प्रचारप्रसारमा प्रयोग हुने टोपी, टि–सर्ट, ब्याचलगायतका अर्डर आउँथ्यो भने यो पटक अर्डर आएको छैन। झण्डाबाहेक अरु माग आएको छैन। झण्डामा सीमित भएको निर्वाचनका कारण विगतमा भन्दा यो पटक व्यापार निकै कम छ।’’उहाँका अनुसार आयोगले सार्वजनिक ठाउँमा निर्वाचन प्रचारप्रसारका लागि झण्डा नराख्न आचारसंहिता लागू गरेको छ। उहाँले अहिले अर्डर अनुसार नै झण्डा बनाइराखेको बताउनुभयो। उहाँ भन्नुहुन्छ, ‘‘अर्डरकै झण्डा बनाइराखेका छौँ। यसका साथै दिनमा १०–२० वटा लिने मानिस पनि धेरै आइराख्नुभएको छ। यसैले हामीले स्टकका लागि पनि बनाइराखेका छौँ।’’ उहाँले झण्डा पनि आयोगले तोकेअनुसार नै बनाइराखेको बताउनुभयो।यता, आयोगले राजनीतिक दल तथा उम्मेदवारले गर्ने जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा कार्यक्रम गर्दा सवारी साधन प्रयोग गर्दा सोही बमोजिमको आकार र सङ्ख्याको झण्डा र चुनाव चिह्न मात्र प्रयोग गर्न अनुरोध गरेको छ। यसैगरी, नयाँ बसपार्क क्षेत्रमा छापाखाना सञ्चालन गर्दै आउनुभएको दीपक पोखरेलले विगतको निर्वाचनको तुलनामा चुनाव प्रचारप्रसार अङ्कित सामग्रीको अर्डर खासै नआएको बताउनुभयो।उहाँले भन्नुभयो, ‘‘वडा अध्यक्षको उम्मेदवारी चयन नभइसकेका कारणले पनि होला। पहिलाको भन्दा अहिले निकै कम छ, टि-सर्ट केहीँ मात्रा गएको छ, झण्डा चाहिँ धेरै जाने गरेको छ।’’ उहाँले एक महिनादेखि झण्डाको कारोबार हुन थालेको जानकारी दिनुभयो। ‘एक महिना जति भयो झण्डको कारोबार हुन थालेको छ। यस अवधिमा १० हजार जति झण्डा गयो।’’ उहाँले भन्नुभयो, ‘‘यसभन्दा अगाडि झण्डाको कारोबार हुने गरेको थिएन।’’ उहाँले झण्डाका लागि अहिलेसम्म तीनवटा पार्टी आउने गरेको बताउनुभयो।तस्बिर : केशब गुरुङ्ग
प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन जरुरी छ: वरिष्ठ नेता पौडेल
अमरराज नहर्कीतनहुँ, चैत ३० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन कायम राख्न जरुरी रहेको बताउनुभएको छ । बुधबार व्यास नगरपालिकाको ३० औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।‘सत्ताको लागि हैन, लोकतन्त्रको र परिवर्तनको रक्षा गर्न प्रतिगमनलाई बलियो बनाउन नदिन गठबन्धन गरिएको हो’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । लोकतन्त्रको रक्षा गर्न परिवर्तनको रक्षा गर्न लोकतन्त्रको मूल्य र मान्यताको बाटोमा देशलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो ।नेता पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर संविधान मिच्ने र प्रतिगमनको पाइला चालिएको आरोप लगाउँदै फेरि पनि प्राप्त उपलब्धिलाई मिच्ने जोखिम भएकाले गठबन्धन आवश्यकतामा जोड दिनुभयो ।देश ठीक ठाउँमा हुन राजनीति ठीक ठाउँमा हनुपर्ने उल्लेख गर्दै उहाँले सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सही ठाउँमा राख्न आफूले ध्यान दिएको बताउनुभयो । देशलाई जिताउने क्रममा आफूले हार्नुपरेको पौडेलको भनाइ थियो ।कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेलगायतले गठबन्धनको शक्तिले सरकार परिवर्तन भएको र आगामी नेतृत्वको लागि पनि गठबन्धन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।
निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह
काठमाडौं, चैत ३० गते । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा. देउवाले आग्रह गर्नुभएको हो । निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर, यो निर्देशनको व्यवस्था नेपालको संविधानको धारा, ३८ (४) विपरीत रहेको भन्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. देउवाले यस्तो प्रावधान सच्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा, ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । निर्वाचन आयोगको यो पछिल्लो निर्देशनले संविधानको भावनाको प्रतिनिधित्व नगर्ने भन्दै यो निर्देशिकालाई सच्याई समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारीको व्यवस्था गर्न डा देउवाले निर्वाचन आयोगलाई अपिल गर्नुभएको हो । डा. देउवाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।”
पार्टीमा जसले टिकट पाए पनि जित्ने काँग्रेसले हो : नेता गच्छदार
जयकृष्ण यादव इनरुवा, चैत २९ गते । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क र पार्टी कार्यालय स्थापनादेखि टोल तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उम्मेदबारका आकाक्षीहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको पार्टी जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक क्षेत्र र पालिकाबाट पार्टीको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सफल पार्ने काम भएको बताइएको छ । विगतमा ९ स्थानीय तह जितेकोमा यसपाली सबै क्षेत्र जित्नेगरी तयारी भएको काँग्रेसले दावी गरेको छ । काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको जोकोही नेताले टिकट पाएपनि काँग्रेंसले नै जित्ने बताउनुभयो । टिकट कसले पायो भन्दा पार्टीलाई कसरी मजबुत बनाउने र जिताउने भन्नेमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । काँग्रेंस सुनसरी पार्टी कार्यालयमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै गच्छदारले पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउन आग्रह गर्नुभयो ।काँग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, संघीय सासद सिताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुको उपस्थिति थियो ।