• १३ साउन २०८१, आइतबार

सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी

blog

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को  ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोलीले भन्नुभयो, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।”

उहाँले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिनुभयो । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ”,  उहाँले भन्नुभयो । उहाँले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने  आश्वासन दिनुभयो ।   

फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुने हो ।”

कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पुर्‍याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो । ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारवाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु. २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश  पत्रकारलाई पुरस्कृत गरेको छ । रासस