• २ पुस २०८२, बुधबार

एमाले महाधिवेशनः ५ बजेसम्म ८०२ ले गरे मतदान

blog

नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा मतदान गर्नुहुँदै अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २ गते । नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदान समयलाई संशोधन गरी समय थप गरिएको उहाँको भनाइ छ । साँझ ५ बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार साँझ ८ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन् । मतदानमा सहभागी हुने प्रतिनिधिहरुको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदानस्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । 

मतदान केन्द्रमा एक पटकमा ५० जनासम्म प्रतिनिधिहरूलाई भोट हाल्न पठाइने व्यवस्था गरिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न ४० देखि ५० मिनेट समय लाग्ने भएपछि मतदान प्रक्रिया लम्बिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । साँझ ५ बजेसम्म ८०२ मत खसेको प्रमुख गौतमले बताउनुभयो ।

नेकपा (एमाले) को यस ११ औं महाधिवेशनमा अध्यक्षसहित ३०१ सदस्यका लागि मतदान हुँदैछ । मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।