• ११ मंसिर २०८१, मङ्गलबार

रुस–युक्रेन युद्धको एक वर्ष : विश्वव्यापी सङ्कट उत्पन्न

blog

काठमाडौँ, फागुन १३ गते । रुस–युक्रेन युद्धको एक वर्ष बित्यो। युद्धले त्यसअघिको युक्रेन र अहिलेको युक्रेनको अवस्था तुलना गर्न नमिल्ने गरी जर्जर बनायो। रुसले गत वर्ष फेब्रुअरी २४ कै दिन युक्रेनमा आक्रमण गरेर युद्धको उद्घोष ग-यो। युद्धलगत्तै नेपाललगायत एकथरी विश्व समुदायले युद्धको पक्षमा नभई युक्रेनको सार्वभौमिकता र जनताको पक्षमा रहेको उद्घोष गर्दै युद्ध नगर्न अपिल ग-यो तर युद्ध रोकिएन।

युक्रेनमा मच्चिएको आक्रमण–प्रत्याक्रमणले ठूलो नरसंहार जारी रह्यो। एउटा राज्य बन्नका लागि आवश्यक पाँच अंशमध्ये मुख्य रूपमा रहेको जनसङ्ख्या तितरवितर बन्यो। डेढ करोडभन्दा बढी जनता प्रत्यक्ष प्रभावित बने। संयुक्त राष्ट्रसङ्घका अनुसार २० हजार युक्रेनीको ज्यान युद्धले लिइसकेको छ। युक्रेन–रुस दुवै पक्षका हजारौँ सैनिकको ज्यान गुम्यो। अझै युद्ध जारी छ। 

त्रासदीपूर्ण युद्धका कारण राज्यको अर्को तत्त्व युक्रेनको भौगोलिक अवस्थिति युगौँका लागि अस्तव्यस्त बनेको छ। बन्दुक, मिसाइलसहितको बारुदी आक्रमणले त्यहाँको जमिनमा बिरुवा नउम्रने भइसकेको छ । भग्नावशेषजस्तै जनताको मनसमेत छियाछिया बनेको सञ्चारमाध्यमका दृश्य र तस्बिरहरूले बताउँछ। युद्धमा साथ दिने र इतरमा रहने वैश्विक राजनीतिको केन्द्र युक्रेनको सार्वभौमसत्ता बन्न पुगेको छ। युक्रेनका सरकार प्रमुख तथा राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की सहायताका लागि यता–उता भौँतारिनुपरेको छ। यो युद्ध दुई देशको मात्र नभएर वैश्विक धु्रवीकरणको वैचारिक युद्धमा परिणत भएकाले तत्काल समाधानको बाटोमा जान्छ भन्ने विश्वास गर्न नसकिने द्वन्द्वविद् बालानन्द शर्मा बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “एकअर्कालाई आफ्नै शक्तिका आधारमा सक्काउँछौँ भनेर युद्ध अघि बढेको भए त्यसले छिट्टै निष्कर्ष दिन्थ्यो, तर पारमाणविक शक्तियुक्त ठूला राष्ट्रहरूको स्वार्थ जोडिन पुगेकाले युद्ध लम्बिएको हो।” 

शक्तिशाली मुलुक जो रुस–युक्रेन युद्धको पक्ष र विपक्षमा उभिएका छन्। उहाँ भन्नुहुन्छ, “उनीहरूको मनसाय नै समाधानतर्फ उन्मुख हुन जरुरी छ, बन्दुक र बारुदभन्दा पनि यो विचारको युद्धमा बदलिएकाले समस्या आएको हो।”महासभाको ११औँ आपत्कालीन विशेष सत्रमा युद्धसम्बन्धी दुईवटा मस्यौदा प्रस्ताव भयो। मस्यौदामा तत्काल युद्धविरामका लागि आह्वान गर्दै रुसलाई युक्रेन छाड्न माग गरेको छ। अहिले पनि ४० प्रतिशत युक्रेनी मानवीय सहायताको पर्खाइमा रहेका छन्। आठ लाख युक्रेनी शरणार्थी बन्न बाध्य भए। छ लाख बढी आफ्नै देशमा विस्थापित छन्। 

संयुक्त राष्ट्रङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षको क्षतिको अङ्क भयानक कोसेढुङ्गाका रूपमा खडा भएको र यसको प्रभाव युक्रेनभन्दा धेरै टाढा महसुस भइरहेको बताए। उहाँले युक्रेनका लागि आवश्यक ५.६ खर्ब डलर बराबरको मानवीय सहायताका लागि सहयोग गर्न अपिल गर्नुभयो।