साहारा लिम्बू
फुङलिङ, असार २५ गते । बाढी पहिरोबाट हुने जोखिमलाई न्यूनीकरण गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले दोभानमा झण्डै डेढ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण गरेको छ ।
जिल्लाको दोस्रो ठुलो ऐतिहासिक बजार दोभानको जोखिम नियन्त्रणका लागि गाउँपालिकाले तटबन्ध निर्माण गरेको हो । वर्षायामको समय सुरु भएसँगै भविष्यमा हुने जोखिमलाई कम गर्न निर्मित तटबन्धको पालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर), उपाध्यक्ष दुर्गाहाङ लिम्बू, वडाध्यक्ष गजेन्द्रप्रसाद नाल्बो, स्थानीय बजारवासीलगायतको टोलीले तटबन्धको अवलोकन गरेको छ ।
विसं २०८० सालमा आएको बाढीले दोभान बजार जोखिममा परिणत भएसँगै पालिकाले दुई आर्थिक वर्षमा करिब एक करोड ४२ लाख रुपियाँको लागतमा तटबन्ध निर्माण गरेको गाउँपालिकाले जनाएको छ । बजारमा जोखिम नियन्त्रण गर्न गत आर्थिक वर्षमा ८० लाख र चालु आर्थिक वर्षमा ६२ लाख रुपियाँ खर्चेर तटबन्ध निर्माण गरिएको अध्यक्ष हाङगामले बताउनुभयो ।
जोखिम न्यूनीकरण गरी दोभान बजारलाई पर्यटकीय स्थानको रुपमा विकास गर्न पालिकाले आगामी आर्थिक वर्षमा दुई करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । प्रदेश तथा सङ्घीय सरकारसँग समेत समन्वय गरेर भावी योजनालाई चाँडै कार्यन्वयन गर्ने लक्ष्य राखिएको अध्यक्ष हाङगामको भनाइ छ ।
मैवाखोला र तमोर नदीको संगमस्थलमा मैवाखोलाको बाढीले बजार क्षेत्रतर्फ क्षति गरेको थियो । भविष्यमा क्षति हुन नदिन पालिकाले विभिन्न सरोकारवालासँग समन्वय गरी स्थानीयलाई सुरक्षा दिन तटबन्ध निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।