काठमाडौं, असार २५ गते । वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री एवं पूर्व सांसद अच्युतराज रेग्मीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको असार २३ गते अष्ट्रेलियामा उपचारका क्रममा निधन हाे । स्वर्गीय रेग्मी वि..सं. २०१५ को प्रथम आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं.९३ पाल्पा पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको २०४७ सालको अन्तरिम सरकारमा उहाँ आवास तथा भौतिक योजना मन्त्री हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पाल्पा तानसेन नगरपालिका वडा नं. २, मेहलधारामा जन्मनुभएका स्वर्गीय रेग्मीले नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियाे। उहाँको निधनबाट नेपाली कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जानकारी कांग्रेसले दिएको छ ।
उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ— “पूर्व मन्त्री एवं २०१५ सालका सांसद अच्युतराज रेग्मीको निधनको खबरले मलाई दुःखित बनाएको छ । उहाँले पुर्याउनुभएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”